Homeराजनीतिन्याय, समानता र परिवर्तनका पक्षधर नेता बसुन्धरा हुमागाई काभ्रे–२ बाट चुनावी मैदानमा

न्याय, समानता र परिवर्तनका पक्षधर नेता बसुन्धरा हुमागाई काभ्रे–२ बाट चुनावी मैदानमा

Date:

काभ्रेपलाञ्चोक । काभ्रे क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार बसुन्धरा हुमागाई न्याय, समानता र परिवर्तनका पक्षधर नेताका रूपमा परिचित हुनुहुन्छ।
बुवा नारायण हुमागाई र आमा पुष्पमाया हुमागाईको कोखबाट वि.सं. २०२७ साल मंसिर २८ गते काभ्रे जिल्लाको तत्कालीन भुमिडाँडा गाविसमा जन्मिनु भएका हुमागाई सानैदेखि सामाजिक न्याय र परिवर्तनकारी विचारधारामा क्रियाशील रहँदै आउनु भएको हो।

२६ वर्षकै उमेरमा गाविस अध्यक्ष बनेर राजनीतिक नेतृत्वको सुरुवात गर्नु भएका हुमागाई सामाजिक क्रियाकलाप, समानतामूलक समाज निर्माण तथा जनमुखी विकासका अभियन्ता रहँदै आउनु भएको छ। केही समय शिक्षण पेशामा समेत संलग्न रहनु भएका उहाँ बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रीका रूपमा उल्लेखनीय कार्यसम्पादन गर्न सफल नेता मानिनु हुन्छ।

मन्त्रीका रूपमा १३ महिनाको कार्यकालमा उहाँले कृषि तथा पशुपन्छी क्षेत्रसँग सम्बन्धित कार्यविधि ८ बाट बढाएर १४ वटा पुर्‍याउनुभएको थियो। साथै, बागमती प्रदेशका लागि ५५ बुँदे कृषि विकास मार्गचित्र तयार गर्नुका साथै कृषि ऐन तथा पोलिसी विकास बोर्ड स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको थियो। तर २०७९ सालमा नवनिर्वाचित संसद गठन भएसँगै ती ऐनहरू कार्यान्वयनमा आउन नसकेको उहाँको भनाइ छ।

त्यसैगरी प्रदेशभित्र रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन, किसानका लागि घुम्ती कोषमार्फत ऋण व्यवस्था, उत्पादनका आधारमा अनुदान तथा क्षतिपूर्ति, कृषि बीमा कार्यक्रम र दुग्ध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिने कार्यक्रमको सुरुवात पनि उहाँकै कार्यकालमा भएको थियो।

भौतिक पूर्वाधारतर्फ उहाँको कार्यकालमा जिल्लाभित्र ८ देखि १० वटा ठूला सडक तथा पक्की पुल निर्माण भएका थिए भने सिंचाइ र खानेपानीका दर्जनौँ योजना कार्यान्वयनमा आएका छन्। काभ्रेका १३ वटै स्थानीय तहमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भई अर्बौँ रुपैयाँ बराबरका विकास आयोजना पाइपलाइनमा रहेको उहाँले बताउनु भयो।

उत्पादनको गुणस्तर सुधार र बजारीकरणलाई प्राथमिकता दिन सके स्वदेशमै १० हजारभन्दा बढी युवालाई रोजगारी सिर्जना गर्न सकिने उहाँको दाबी छ।

काभ्रेको विकासका प्रमुख चुनौतीबारे बोल्दै हुमागाईले संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वयको अभाव हुँदा योजनाबद्ध विकास प्रभावित भएको बताउनु भयो। कार्यविभाजन स्पष्ट नहुँदा एउटै योजनामा दोहोरो खर्च हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै उहाँले तीनै तहका सरकारबीच सहकार्य र पारदर्शिता अपरिहार्य रहेको धारणा राख्नुभयो।

समग्रमा समाजवादी व्यवस्थातर्फको यात्राबिना मुलुकको रूपान्तरण सम्भव नहुने उहाँको निष्कर्ष छ। “जबसम्म समाजवादको तहसम्म पुगिँदैन, तबसम्म समाजवादी विचार र सिद्धान्तले पूर्ण न्याय पाउँदैन,” उहाँले भन्नुभयो, “समाजवादी यात्रामार्फत् नै देशलाई समृद्धि र रूपान्तरणको बाटोमा लैजान सकिन्छ।”

हाल बसुन्धरा हुमागाई काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा चुनावी मैदानमा हुनुहुन्छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here