
कमल, झापा । कमल गाउँपालिका–२ स्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुको उपस्थितिमा स्वास्थ्य सेवा सुधारसम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
छलफल कार्यक्रममा कमल गाउँपालिका सभापति खगेन भण्डारी, सामाजिक तथा बौद्धिक व्यक्तित्व होमबहादुर बराल, कमल–१ कांग्रेस सभापति भीष्म सुवेदी (पितामह) सहित विभिन्न राजनीतिक, सामाजिक तथा स्थानीय व्यक्तित्वहरू र पार्टी कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले कमल नगर अस्पतालको स्तरउन्नति तथा लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालको व्यवस्थापन सुधार र सेवा प्रभावकारिताबारे स्वास्थ्य मन्त्रीसमक्ष गम्भीर चासो र सुझावहरू प्रस्तुत गरेका थिए।
छलफललाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले आफू हालसालै मात्र नवनियुक्त भएको उल्लेख गर्दै कमल नगर अस्पतालमा पहिलोपटक औपचारिक कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो।
उहाँले प्रादेशिक आयुर्वेद अस्पताललाई थप व्यवस्थित र प्रभावकारी बनाउने, साथै कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईसँग समन्वय गरी कमल नगर अस्पतालमार्फत सर्वसाधारणलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न सक्रिय रूपमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
छलफलले स्थानीय तहका स्वास्थ्य संस्थाको सुदृढीकरण तथा जनतामैत्री स्वास्थ्य सेवाको विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

