Homeसमाचार१३औँ राष्ट्रिय पोशाक तथा अन्तर्राष्ट्रिय टोपी दिवसमा पत्रकार अरबिन्द्र गौतम सम्मानित

१३औँ राष्ट्रिय पोशाक तथा अन्तर्राष्ट्रिय टोपी दिवसमा पत्रकार अरबिन्द्र गौतम सम्मानित

Date:

काठमाडौँ । १३औँ राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा निरन्तर, जिम्मेवार र तथ्यपरक योगदान पुर्‍याउँदै आएका पत्रकार अरबिन्द्र गौतम सम्मानित भएका छन्।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालद्वारा आयोजित विशेष कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री माननीय जगदिश खरेलले पत्रकार गौतमलाई सम्मान प्रदान गर्नुभएको हो। सामाजिक सरोकारका विषयलाई केन्द्रमा राख्दै सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारिता गर्दै आएको योगदानको उच्च कदरस्वरूप उहाँलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

पत्रकार गौतमको पत्रकारिताले आम नागरिकका आवाज, सामाजिक न्याय, संस्कृति संरक्षण तथा समसामयिक मुद्दालाई सशक्त रूपमा उजागर गर्दै आएको भन्दै आयोजक संस्थाले उहाँको योगदानलाई उदाहरणीय रहेको उल्लेख गरेको छ।

केहि दिन अगाडि मात्रै काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २८औँ वार्षिक साधारणसभामा गौतमलाई नगद र सम्मानपत्रसहित सम्मान प्रदान गरिएको थियो । एक हप्ता नपुग्दै गौतम लाई फेरि अर्को सम्मान प्रदान भएको छ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले २०७० सालदेखि नेपालको राष्ट्रिय औपचारिक पोशाकको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरेको राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस अभियानले यस वर्ष १३ वर्ष पूरा गरेको छ।

यस अवसरमा पुस १६ गते साँझ बसन्तपुरमा जेन्जी आन्दोलनका क्रममा घाइते भई सहिद भएका व्यक्तिहरूको सम्झनामा दीप प्रज्वलन गरिएको थियो। त्यसैगरी पुस १७ गते बिहान पञ्चेबाजासहित बसन्तपुर दरबार क्षेत्रमा प्रभातफेरि सम्पन्न भएको थियो।

पुस १७ गते दिउँसो नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रबाट उल्लेख्य योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई अभिनन्दन तथा सम्मान गरिएको हो। कार्यक्रम संस्थापक तथा अध्यक्ष राजानन्द माण्डव्यको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा राष्ट्रिय झण्डाका पुनः ढाँचाकार वरिष्ठ इन्जिनियर शंकरनाथ रिमाल, नेपाल जेसिज २०२६ का अध्यक्ष जीवन कार्की, मिस नेपाल २०२५ की विजेता लुना लुइँटेल, टोपी अभियन्ता शंकर बन्जाडे, गीतकार लोकराज अधिकारी, पत्रकार भोजराज थापा, तेक्वान्दो रेफ्री दीपेन्द्र ढकाल, लेखिका अर्चना झा, आध्यात्मिक प्रवाचक संजेलजी महाराज, दिपकिशोर भट्टराई, कबिन्द्र न्यौपाने (बामन) लगायतलाई पनि विभिन्न विधामा सम्मान गरिएको थियो।

कार्यक्रममा बैंकर अनिल केशरी शाह, अभिनेता प्रदीप खड्का, दलित आयोगका अध्यक्ष माननीय देवराज विश्वकर्मा, मधेसी आयोगका अध्यक्ष माननीय डा. विजय कुमार दत्त, डा. भवानी राणा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

संसारभर रहेका नेपालीलाई पोशाक, टोपी र सांस्कृतिक पहिचानमार्फत एकताबद्ध गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यो अभियानले नेपाली मौलिकता र राष्ट्रिय पहिचानलाई थप मजबुत बनाएको आयोजकको निष्कर्ष रहेको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here