
दमक। कमल नगर अस्पतालमा आज बिहान ६:१४ बजे एक स्वस्थ नवजात शिशुको सुरक्षित जन्म भएको छ। अनुभवी तथा दक्ष नर्सिङ टोली र आधुनिक स्वास्थ्य सेवाको प्रभावकारी समन्वयका कारण आमा र शिशु दुवै पूर्ण रूपमा सुरक्षित र स्वस्थ रहेको अस्पतालले जनाएको छ।
अस्पतालले बिहानको समयमै समेत २४ सै घण्टा प्रसुती सेवा उपलब्ध गराउँदै आएको छ। गर्भावस्थादेखि सुत्केरी सेवा तथा सुत्केरीपछिको हेरचाहसम्म स्वच्छ, सुरक्षित र माया–ममतायुक्त उपचार सेवा प्रदान गरिँदै आएको २४ घण्टे बर्थिङ सेन्टरमा कार्यरत अनमि अन्जना सापकोटाले जानकारी दिनुभयो। नवजात शिशुको पहिलो सासदेखि आमाको स्वास्थ्य र मुस्कानसम्म प्रत्येक चरणमा अस्पताल टोलीले उच्च जिम्मेवारी र संवेदनशीलताका साथ सेवा प्रदान गर्दै आएको उहाँको भनाइ छ।
सुरक्षित प्रसुती सेवालाई अझ सहज र पहुँचयोग्य बनाउन कमल गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ। आकस्मिक अवस्थामा गर्भवती महिलालाई समयमै अस्पतालसम्म ल्याउन यस सेवाले महत्वपूर्ण भूमिका खेलेको अस्पतालले जनाएको छ।
त्यसैगरी, कमल नगर अस्पतालमै सुत्केरी भएमा अस्पतालको तर्फबाट रु ५,००० नगद प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था रहेको छ। यस सुविधाले स्थानीय गर्भवती महिलालाई अस्पतालमै सुरक्षित रूपमा सुत्केरी गराउन थप प्रोत्साहन मिलेको अस्पतालको विश्वास छ।
अस्पतालले “स्वस्थ आमा, सुरक्षित शिशु र विश्वासिलो सेवा” लाई आफ्नो मूल पहिचानका रूपमा स्थापित गर्दै मातृ तथा नवजात स्वास्थ्य सेवाको गुणस्तर निरन्तर सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। कमल गाउँपालिका अध्यक्ष तथा अस्पताल सञ्चालन व्यवस्थापन समितिका अध्यक्ष हुकुम सिंह राईले सुरक्षित प्रसुती सेवामा संलग्न सम्पूर्ण चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सुरक्षित, गुणस्तरीय र जनमैत्री प्रसुती सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
अस्पतालका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा यो छैटौँ सुरक्षित प्रसुती सेवा हो। यस अवधिमा कमल नगर अस्पतालले आमा र नवजात शिशुलाई सुरक्षित तथा गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ।



