
काठमाडौं — लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एचको आयोजनामा काठमाडौंको सांस्कृतिक तथा ऐतिहासिक नगरी किर्तिपुरमा आगामी पुष ११ र १२ गते ‘तेस्रो लायन्स मिनी मेला’ आयोजना हुने भएको छ।
‘समुदाय कल्याण र सांस्कृतिक मेला’ नारासहित आयोजना हुने मेला किर्तिपुर नगरपालिका वडा नं १, २ र १० का विभिन्न स्थानमा सञ्चालन हुनेछ। ऐतिहासिक चिलन्चो मन्दिरदेखि उमामहेश्वर मन्दिरसम्मको मार्ग मेलास्थलका रूपमा तय गरिएको छ।
डिष्ट्रिक्टको तर्फबाट लायन्स र लियो क्लब अफ कीपु, लायन्स क्लब अफ काठमाडौं पद्यमकाष्ठपुर तथा लायन्स र लियो क्लब अफ कीर्तिपुर ले संयुक्त रूपमा मेलाको आयोजना जिम्मा लिएका छन्। यस कार्यक्रमले किर्तिपुरको मौलिक सांस्कृतिक पहिचानलाई देशभर चिनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
मेलामा स्वास्थ्य सचेतना तथा प्रारम्भिक स्वास्थ्य जाँच शिविर सञ्चालन गरिनेछ। आँखा, मधुमेह, दाँत–मुख, मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमका साथै रक्तदान कार्यक्रम पनि समावेश गरिनेछ।
अवलोकनकर्ताले किर्तिपुरका ऐतिहासिक मन्दिरहरूको जानकारी लिनुका साथै परम्परागत नेवारी सांस्कृतिक प्रस्तुति, लोक संगीत र नृत्यको आनन्द लिन सक्नेछन्। खानपान तथा मनोरञ्जनका लागि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ। साथै चौरासी व्यञ्जन र मौलिक नेवारी भोज अन्तर्गत विभिन्न स्वादिष्ट परिकारको स्वाद लिन सकिनेछ।
मेलामा ३० भन्दा बढी प्रदर्शनी स्टल रहनेछन्। स्थानीय उत्पादन, हस्तकला, जैविक उत्पादन, प्राविधिक सेवा, शैक्षिक तथा वित्तीय संस्थाका स्टलहरू रहने डिष्ट्रिक्ट ३२५ एच का सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन सुदामा कार्कीले जानकारी दिए। उनका अनुसार परिवारसहित दुई दिनसम्म कीर्तिपुरमा रमाइलो गर्न सकिने व्यवस्था गरिएको छ भने आगन्तुकका लागि किर्तिपुरस्थित होटल तथा होमस्टेहरूको सुविधा समेत मिलाइएको छ।

