
जापानमा गरिएको एक सर्वेक्षणले ताइवानमा चीनले सैन्य कदम चाल्ने परिस्थितिमा जापानले पनि हस्तक्षेप गर्नुपर्ने धारणा बलियो बन्दै गएको देखाएको छ। सरकारी समाचार एजेन्सी क्योदो न्युजले सार्वजनिक गरेको अध्ययन अनुसार आधाभन्दा बढी, अर्थात् ६० प्रतिशत जापानी नागरिक यस्तो हस्तक्षेपका पक्षमा उभिएका छन्।
सर्वेक्षणसँगै जापानको सुरक्षा नीति कडा बन्दै गएको संकेत थप स्पष्ट बनेको छ। गत शुक्रबार संसदमा बोल्दै प्रधानमन्त्री सानी ताकाइचीले चीनले ताइवानमा हस्तक्षेप गरे जापानको “जीवनमरणको अवस्था” हुने चेतावनी दिँदै प्रत्यक्ष सैन्य संलग्नतासम्म जाने संकेत गरेकी थिइन्। यिनै अभिव्यक्तिले चीन–जापान कूटनीतिक सम्बन्ध झनै तातिएको छ।
चीनले टोकियोस्थित जापानी राजदूतलाई बोलाएर स्पष्टीकरण मागिसकेको छ, भने जापानले पनि चिनियाँ राजदूतद्वारा सेयर गरिएको लेखमाथि कडा आपत्ति जनाएको छ। दोस्रो विश्वयुद्धमा जापानले चीनमाथि गरेको उपनिवेशवादी व्यवहारका कारण अहिले पनि चिनियाँ पक्ष जापानतर्फका कदमप्रति अत्यन्त संवेदनशील रहन्छ।
विशेषज्ञहरूका अनुसार ताइवान मुद्दाले दुई देशबीचको तनाव दीर्घकालीन रूपमा बढाउन सक्छ, र जापानमा देखिएको कठोर जनमतले सुरक्षा नीतिमा ठूला परिवर्तन ल्याउने सम्भावना बढेको छ।

