
खोटाङ । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री माननीय भुपेन्द्र राईले खोटाङ जिल्लामा आफ्नो कार्यकालमा अघि बढाइएका महत्वपूर्ण विकास परियोजनाहरू तीव्र गतिमा अगाडि बढ्दै गएको बताएका छन्। उनका अनुसार जिल्लाका दीर्घकालीन र प्रभावशाली पूर्वाधार निर्माणका योजनाहरूले अब खोटाङले विकास र समृद्धितर्फ ऐतिहासिक छलाङ मार्नेछ।
मन्त्री राईका अनुसार ८० करोड रुपैयाँभन्दा बढीको ठेक्का प्रक्रिया पूरा भइसकेको छ। ती योजनामध्ये केही प्रमुख आयोजना हरुमा, खानिडाँडा विमानस्थल–याम्खा सडक ३० करोड, रुवाफेदी –बुवाखोला पक्की पुल २६ करोड, हौचुर खोला पक्की पुल: ५ करोड, तापखोला–सनिबारे पक्की पुल ८ करोड, पत्रकार महासंघ भवन ३ करोड, दिखुवा खोला पक्की पुल ३ करोड लगायत अन्य सलबसाली योजनाहरू मिलाएर ८० करोडभन्दा बढीको विकास परियोजना सुरु भइसकेको उनले जानकारी दिए।
मन्त्री राईले भने,“वर्षौँदेखि रोकिएका, बिरामीजस्तै थन्किएका योजनाहरूलाई हामीले पुनर्जीवित गरेका छौँ। अब खोटाङमा सडक, पुल, भवनदेखि सामाजिक पूर्वाधारसम्मका कामले द्रुत गति लिनेछ। यो प्रदेश सरकारको प्रतिबद्धता र स्थानीय तहको सहकार्यको परिणाम हो।”
उनका अनुसार योजनाहरू गुणस्तर तवरले सम्पन्न गर्न प्रदेश मन्त्रालय कडाइका साथ अनुगमनमा रहेको छ। उनले आगामी वर्षहरूमा पनि खोटाङलाई प्रदेशको उत्कृष्ट विकास मोडलका रूपमा उभ्याउने लक्ष्य राखिएको बताए।
स्थानीयवासीले लामो समयदेखि प्रतीक्षा गरेको पूर्वाधार निर्माणका काम तीव्र गतिमा अघि बढ्दै गएको जनप्रतिनिधिहरूले पनि स्वागत गरेका छन्।


