HomeUncategorized१.५ करोडभन्दा बढी कमाइ गर्दै ‘जारी २’ सुपरहिट; ‘परान’ किन वञ्चित?

१.५ करोडभन्दा बढी कमाइ गर्दै ‘जारी २’ सुपरहिट; ‘परान’ किन वञ्चित?

Date:

नेपालको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी २’ लाई ‘सुपरहिट’ को मान्यता दिएको छ। क्युएफएक्सले शुक्रबार दिउँसो आफ्नो आधिकारिक वेबसाइटमार्फत ‘जारी २’ लाई यो ट्याग प्रदान गरेको हो।

कसरी दिइन्छ यो ‘ट्याग’?

क्युएफएक्सका हलहरूमा फिल्मको कमाइका आधारमा यो ट्याग दिने गरिएको छ।

क्युएफएक्स चेन अन्तर्गतका सिनेमा घरहरूमा कुनै पनि फिल्मले प्रदर्शनको पहिलो साता १ करोड ५० लाख रूपैयाँभन्दा बढी कमाइ गरेमा ‘सुपरहिट’ को ट्याग दिने मापदण्ड रहेको छ। सोही मापदण्डका आधारमा दयाहाङ राई र मिरूना मगर अभिनीत ‘जारी २’ लाई सुपरहिट घोषणा गरिएको क्युएफएक्सले जनाएको छ।

क्युएफएक्सकी महाप्रबन्धक तृप्ति गिरीका अनुसार यसअघि ‘कान्ताराः च्याप्टर १’ र ‘जेरी अन टप’ लाई पनि यही मापदण्डका आधारमा सुपरहिट घोषणा गरिएको थियो। उनले हाल एउटा मात्र मापदण्डका आधारमा सुपरहिट घोषणा गर्ने गरिएको बताइन्। सुरूआती दिनमा भने क्युएफएक्सले अन्य मापदण्ड पनि तय गरेको थियो।

‘परान’ ले किन पाएन ट्याग?

कतिपय फिल्मले प्रदर्शनको पहिलो साताभन्दा दोस्रो वा तेस्रो सातामा राम्रो व्यापार गर्ने गरेका उदाहरणहरू छन्। यसको पछिल्लो उदाहरण ‘परान’ हो। शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको यो फिल्मले दुई सातामा ७ करोड ५० लाख रूपैयाँभन्दा माथि कमाइ गरेको निर्माण पक्षले जनाएको छ।

यस्तो अवस्थामा पहिलो सातामा मापदण्ड पूरा नगरेका तर पछि राम्रो कमाइ गरेका फिल्महरूले ट्याग पाउँछन् कि पाउँदैनन् भन्ने जिज्ञासा हुन सक्छ।

यस विषयमा प्रष्ट पार्दै क्युएफएक्सकी महाप्रबन्धक गिरीले भनिन्, ‘अहिले पहिलो साताको मात्र मापदण्ड छ। फिल्म रिलिज भएको पहिलो हप्ता क्युएफएक्स चेनमा व्यवसाय डेढ करोड नाघ्नुपर्‍यो। ‘जारी २’ ले त्यो मापदण्ड पार गर्‍यो।’

‘परान’ ले पहिलो साता त्यो मापदण्ड पूरा नगरेका कारण ट्याग नपाएको उनले बताइन्।

उनले दोस्रो वा तेस्रो सातामा जतिसुकै राम्रो कमाइ गरे पनि ट्याग दिने मापदण्ड अहिलेको अवस्थामा नरहेको स्पष्ट पारिन्। ‘केही समय अन्य मापदण्ड पनि राखेका थियौं। तर, धेरै समय रहेनन्। अहिले एउटा मात्रै मापदण्ड हो’, गिरीले भनिन्।

क्युएफएक्सको यो मान्यताले अन्य सिनेमा हलको भने प्रतिनिधित्व गर्दैन्।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here