
रुपन्देहीमा सञ्चालित चार ठूला उद्योगहरूले डेडिकेटेड तथा ट्रंक लाइनबाट उपभोग गरेको विद्युतको प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिरेका छन्। भैरहवा क्षेत्रका पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार पहिलो किस्ता बुझाएपछि विद्युत प्राधिकरणले ती उद्योगहरूको विच्छेद गरिएको लाइन पुनः जडान गरेको हो।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिको बक्यौता प्रिमियम महसुल बुझाएका हुन्। पहिलो किस्ताबापत पञ्चकन्या प्लास्टिकले २४ लाख ६३ हजार, पञ्चकन्या स्टीलले ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टले १ करोड ८३ लाख र श्याम प्लास्टिकले ४९ लाख १० हजार रुपैयाँ तिरेका छन्।
उद्योगहरूले बक्यौता रकमलाई २८ किस्तामा तिरिने सहमतिअनुसार पहिलो किस्ता बुझाएका हुन्। प्राधिकरणले यसलाई डेडिकेटेड र ट्रंक लाइन विवाद समाधानतर्फको सकारात्मक कदमका रूपमा व्याख्या गरेको छ। यससँगै लामो समयदेखि स्थगित भएका औद्योगिक उत्पादनहरू पुनः सञ्चालनमा फर्किएका छन्।

