
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठकले नेकपा (माओवादी केन्द्र)सँग एकता प्रक्रियामा जाने ऐतिहासिक निर्णय गरेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा कात्तिक १२ देखि १५ गतेसम्म काठमाडौँमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।
बैठकले वैज्ञानिक समाजवाद र जनवादी क्रान्तिको लक्ष्यसहितको साझा कार्यदिशा तय गर्दै दुई पार्टीबीच वैचारिक, राजनीतिक र संगठनात्मक एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
पार्टी उपाध्यक्ष प्रकाश ज्वाला हस्ताक्षरित विज्ञप्ति , यो निर्णयले देशमा वाम एकता प्रक्रियालाई बल मिल्ने विश्वास लिइएको छ। उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाको विघटनपछि उत्पन्न भ्रमलाई यो निर्णयले अन्त्य गर्ने उल्लेख गरिएको छ।
पार्टीले एकता प्रक्रियालाई सफलतापूर्वक अघि बढाउन सबै तहका नेता तथा कार्यकर्तालाई एकीकृत अभियानमा सहभागी हुन आह्वान गरेको छ।


