
झापा । कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले सामाजिक सञ्जालमार्फत हालको राजनीतिक अवस्थाप्रति कडा धारणा व्यक्त गर्नु भएको छ। उहाले ‘जेन-जी विद्रोह’ बाट जन्मिएको वर्तमान सरकार बहिरो र कानो होइन भन्दै परिवर्तनका पक्षधर आन्दोलनकारी र राज्यविरोधी हिंसात्मक गतिविधि गर्नेबीच स्पष्ट भिन्नता गर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष राई लेख्नु हुन्छ, “परिवर्तनका पक्षधर आन्दोलनकारी र आन्दोलनका नाममा राज्य, व्यक्तिको घर जलाउने, दिउँसै गरगहना र धनमाल लुट्नेहरू एउटै होइनन्।”
उहाँले सत्तामा बसेर देश लुट्ने र विदेशमा मिहिनेत गरेर कमाएको सम्पत्ति हिनामिना गर्नेहरूमाथि तत्काल छानबिन र कानुनी कारबाही हुनुपर्ने माग गर्नुभएको छ। राईका अनुसार, “यदि सरकारले यस्ता लुटेराहरूमाथि कडा कारबाही गर्न सकेन भने सरकार उल्टो दिशामा हिँड्दैछ, त्यो पनि पहाडतिर।”
सामाजिक सञ्जालमा लेख्दै उहाले भन्नुभयो, “नेपालमा केही बाठाहरूले आफ्ना स्वार्थअनुसार कुरा मिलेन भने यो सरकार विदेशी शक्तिले चलायो भनी आरोप लगाउँछन्। तर मलाई राम्ररी थाहा छ — फरक-फरक खाल्के लुटेराहरूमाथि कर्यापझ्याप पारी कसर अनुसार कानुनी कारबाही गर्न शुशिला दिदी (प्रधानमन्त्री) सक्षम छिन्।”


