
काभ्रे । आज दिउँसाे काभ्रेकाे पाँचखाल नगरपालिकामा भएकाे सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । जसमा तीन जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ। दिउँसो १ः३० बजेतिर अरनिको राजमार्गस्थित पाँचखाल नगरपालिका वडा नम्बर ६ दुलालथोकमा सवारी दुर्घटना भएको हाे ।
काठमाडौंबाट सिन्धुपाल्चोकको बाह्रबिसेतर्फ जाँदै गरेको बा २ ख ६५७९ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा ५ ख ६८३ नम्बरको मिनी आइचरलाई ठक्कर दिँदा मिनी आइचर अनियन्त्रित भई करिब १५० मिटर अगाडि पुगेर सडकको दाहिनेतर्फ करिब १०० मिटर तल खसेर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएकाे छ।
दुर्घटनामा मिनी आइचरमा सवार ६ जना मध्ये ३ जना गम्भिर घाइते भएका छन् । अन्य ३ जना सामान्य घाइते छन् । जसमा सिन्धुपाल्चोककाे चौतारा साँगाचोकगढी नगरपालिका बस्ने बर्ष ३० का रेशम थापाकाे दुवै हात र खुट्टामा चोट लागेकाे छ। यस्तै काभ्रेकाे बेथानचोक गाउँपालिका ४ बस्ने बर्ष ४३ का आइतलाल तामाङकाे ढाड र पेटमा चोट लागेकाे छ।


