HomeUncategorizedवीरगन्जमा ‘गोल्डेन’ हत्या प्रकरणः पाँच आरोपी पक्राउ

वीरगन्जमा ‘गोल्डेन’ हत्या प्रकरणः पाँच आरोपी पक्राउ

Date:

वीरगन्ज । गोल्डेन भन्ने शिवम साह कानुको हत्यामा संलग्न पाँच जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नं. १०, गीता मन्दिर नजिकै गत असोज १४ गते राति भएको हत्यामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

बारा परवानीपुर गाउँपालिका वडा नं. ९ भइ हाल वीरगन्ज–१० मा बस्दै आएका गोल्डेनको हत्यामा संलग्न १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल भन्ने करण प्रसाद पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचै जना वीरगन्ज महानगरपालिका वडा नं. २४ रामगढवा निवासी हुन् ।

आफूलाई ‘कुख्यात प्रदर्शन गर्ने (ग्याङस्टर) बनाउने युवाहरूको होडबाजी र पुरानो रिसइबी साध्ने प्रतिशोधका कारण गोल्डेनको हत्या भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जारी गरेको विज्ञप्तिअनुसार, गत असोज १४ गते राति करिब ११ः ३० बजे अपरिचित व्यक्तिहरूबीच झैझगडा भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका अन्दाजी २४ वर्षीय शिवम साह कानू (गोल्डेन)लाई तत्काल नारायणी अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा राति ११ः५० बजे उनलाई मृत घोषणा गरिएको थियो ।

प्रहरी अनुसन्धानका क्रममा मृतक गोल्डेन र विपक्षी समूहबीच विगतमा समेत झैझगडा हुने गरेको खुलेको छ। घटनाको दिन गोल्डेन गहवामाईको मेला हेर्न गएको मौका छोपी पुरानो रिसइबी साध्नका लागि विपक्षी समूहका युवाहरूले उनलाई एक्लै पारेर आक्रमण गरेका थिए। प्रहरीका अनुसार आरोपीहरूले हात, मुक्काका साथै बाँसका भाटा समेत प्रहार गरी उनको हत्या गरेका थिए।

घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी उपरीक्षक सुदीप राज पाठकको कमाण्डमा खटिएको प्रहरी टोलीले सीसीटीभी फुटेज, भिडियो रेकर्ड र सीडीआर विश्लेषण लगायतका प्रविधि प्रयोग गरेर आरोपीहरूको पहिचान गरेको थियो।

पक्राउ परेका पाँचै जनामाथि जिल्ला प्रहरी कार्यालय पर्साबाट ‘ज्यानसम्बन्धी कसूर’ मा थप अनुसन्धान भइरहेको छ। पोस्टमार्टमपछि मृतकको शव उनका बुवा राजन साह कानूले बुझी लगेको प्रहरीले जनाएको छ ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here