असोज । इटहरी–१२ मा सोमबार साँझ दशैंको माहोलमा २५ वर्षीया अनिसा भट्टराईलाई उनका श्रीमान ३० वर्षीय सुमन दाहालले काठको बटमले प्रहार गरी हत्या गरेका छन् ।
राति करिब ८ बजे टाउको, नाक र कानमा प्रहारबाट गम्भीर घाइते भएकी भट्टराईलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पुर्याइए पनि राति ९:१० मा मृत घोषणा गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले जानकारी दिए ।
पूर्व वडाध्यक्ष हिरा दाहालका अनुसार करिब दुई महिना अघि सुमनले श्रीमतीलाई हलगडामा छोडेका थिए भने अनिसाले श्रीमानलाई नभनी खनारको आइसक्रिम पार्लरमा काम गर्दै कोठा सरेकी थिइन् ।
दशैं मान्न आएका श्रीमानले सो कुरा थाहा पाएपछि झगडा भई हत्या भएको उनले बताए । घटनापछि स्थानीयले आरोपीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
प्रहरीका अनुसार घटनास्थल खनार प्रहरी चौकीदेखि करिब १ सय मिटर दक्षिणतर्फ पर्छ र हाल आरोपीमाथि थप अनुसन्धान भइरहेको छ ।


