ऐतिहासिक टक्कर: नेपाल र वेस्ट इन्डिजबीच पहिलो टि-२० खेल आज

काठमाडौं । नेपाली क्रिकेटले आज ऐतिहासिक क्षण रच्दै छ । दुई पटकको टि-२० विश्वविजेता वेस्ट इन्डिजविरुद्धको पहिलो अन्तर्राष्ट्रिय खेलका लागि दुवै टोली मैदानमा प्रवेश गरी अन्तिम तयारीमा जुटेका छन् ।
खेल नेपाली समयअनुसार बेलुका ८:१५ बजे सुरु हुनेछ । ‘युनिटी कप’ नामक यो तीन खेलको टि-२० शृंखलाले नेपाली क्रिकेटका लागि सुनौलो अवसर प्रदान गरेको छ । कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोली र अकिल होसेनको कप्तानीमा रहेको वेस्ट इन्डिज टोली मैदानमा ‘वार्म-अप’ गरिरहँदा विश्वभरका नेपाली क्रिकेट समर्थकहरूको उत्साह चरममा पुगेको छ ।
नेपालले पहिलो पटक विश्व क्रिकेटको दिग्गज टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्न लागेको हो । सन्दीप लामिछाने, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीजस्ता अनुभवी खेलाडीले भरिएको नेपाली टोली विश्वविजेतालाई कडा चुनौती दिन आत्मविश्वासका साथ मैदानमा उत्रनेछ । वेस्ट इन्डिज टोलीमा जेसन होल्डर र काइल मेयर्सजस्ता विश्वस्तरीय खेलाडी छन् । पहिलो खेलपछि नेपालले दोस्रो र तेस्रो खेल क्रमशः असोज १३ र १४ गते खेल्नेछ ।