सुशीला कार्की सरकारलाई ‘हाँ हुँ’ भन्ने ओलीको टिप्पणीप्रति राप्रपाको आपत्ति

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जेनजी विद्रोहको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई नेकपा (एमाले) अध्यक्ष केपी ओलीले ‘हा हुँ’ गरेर आएको सरकार भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो आपत्ति जनाएका हुन्। उनले ओलीको आजको अभिव्यक्तिले ७५ शहीदको बलिदान, कैयन् घाइतेको रगत र सडकमा उत्रिएका लाखौँ नागरिकको अपमान गरेको भनाइ राखे।
‘जेनजी विद्रोहको जगमा बनेको सरकारका विभिन्न पाटोमा छलफल गर्न सकिन्छ तर कुशासनको जगमा निर्लज्जतापूर्वक विद्रोहको आधार तयार पार्ने र नरसंहार मच्चाउने मूल पात्रले आन्दोलनलाई ‘हाँ हुँ’ भन्नु ७५ शहीदको बलिदान, कैयन् घाइतेको रगत र सडकमा उत्रिएका लाखौं नागरिकको अपमान हो,’ उनले भनेका छन्।
जेनजी विद्रोह र भदौ २३ को नरसंहारको दोषीहरूलाई कानुनी दायरामा ल्याउन जति ढिला हुन्छ त्यति यिनको मनोबल बढ्ने बताउँदै उनले सुशीला कार्की नेतृत्वको सरकारले दोषीलाई उन्मुक्ति नदिन आग्रह समेत गरे।
‘जेनजी विद्रोह र भदौ २३ को नरसंहारको दोषीहरूलाई कानुनी दायरामा ल्याउन जति ढिला हुन्छ त्यति यिनको मनोबल बढ्नेछ,’ उनी लेख्छन्, ‘सुशीला कार्की नेतृत्वको सरकारले दोषीलाई उन्मुक्ति नदेओस्। निरन्तर खबरदारी गरौं, दोषीहरूलाई कानुनी दायरामा ल्याउन बाध्य पारौं। जय दुर्गे जय काली!’