
कमल गाउँपालिकामा सञ्चालित सरकारी स्वामित्वको कमल नगर अस्पताललाई स्वास्थ्य सेवा विस्तारका लागि संघीय तथा प्रदेश सरकारबाट उपलब्ध गराइएको स्वास्थ्य सामग्री आइतबार अस्पताललाई हस्तान्तरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले अस्पतालका मेडीकल सुपरिन्टेन्ड डा. फुलकचन्द्र लावोतीलाई ति सामग्री हस्तान्तरण गर्नुभयो ।
भाद्र तेस्रो साता तत्कालिन संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले विशेष चासो र महत्वसाथ उपलब्ध गराउनु भएका स्वास्थ्य उपकरणहरु डेण्टल चियर, डेण्टल कम्प्रेसर, अक्सिजन सिलिण्डर, डेन्टल ईन्सटुन्र्समेन्ट सेट, मेडिकेशन स्टेन, ए.आर.ई. साउण्ड टाईमर, सेन्ट्रिफ्यू मेसिन, पाईपपेट स्टेन र पल्स अक्सिमिटर (हेन्ड हेल्ड) कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले कमल नगर अस्पताल प्रशासनलाई हस्तान्तरण गर्नुभएको हो ।
संघीय सरकारले अस्पताललाई दन्त उपचारदेखि अस्पतालको प्रयोगशाला परिक्षणमा आवश्यक विभिन्न सामाग्री उपलब्ध गराएको थियो ।
असोज ५ गते कोशी प्रदेश सरकारका भौतिक पुर्वाधार बिकाश तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले पनि आधुनिक प्रयोगशाला र आकस्मिक उपचारमा उपयोगी उपकरण उपलब्ध गराउनुभएको छ । सेमि अटो एनालाइजर मेसिन (१ थान) र अक्सिजन कन्सन्ट्रेटर (१ थान) उपलब्ध गराउनु भएको हो । त्यस्तै, चाँडै माइक्रोस्कोप मेसिन पनि उपलब्ध गराइने मन्त्री राईले प्रतिवद्धता जनाउनुभएको छ । हालैको जेनजी आन्दोलनका कारण प्रदेश सरकारको भौतिक संरचनामा क्षति पुगेको भए पनि पालिका अध्यक्ष राईको निरन्तर पहल र सक्रियताका कारण सामग्री प्रदेश सरकारले ति सामग्री उपलब्ध गराएको हो । यसले कमल गाउँपालिकावासीहरूका अतिरिक्त छिमेकी पालिकाका बासिन्दाहरुलाई पनि सरकारी स्वास्थ्य सेवा उपयोगमा सहयोग पुग्ने अस्पताल सञ्चालक समिति सदस्य समेत रहनु भएका कमल २ का वडाध्यक्ष अशोक सुब्बाले बताउनु भयो ।
प्राप्त स्वास्थ्य सामाग्री हस्तान्तरणका क्रममा अध्यक्ष राईले संघीय र प्रदेश सरकारको सहयोगप्रति धन्यवाद व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो “कमल नगर अस्पताललाई सबल बनाउन यी उपकरणहरूले महत्वपूर्ण योगदान गर्नेछन् । यसले कमलवासी नागरिकले गाउँमै गुणस्तरीय र विश्वासिलो स्वास्थ्य सेवा दिन थप मद्धत पुग्ने विश्वास छ । ”
उहाँले कमल नगर अस्पताल दिनप्रतिदिन सबल रुपमा अघि बढेको पनि उल्लेख गर्नुभयो । स्थानीयवासीलाई गाउँमै उपचार सम्भव हुने विश्वास दिलाउनुका साथै जनतामा स्वास्थ्य सेवाप्रति भरोसा बढाएको उहाँको भनाई छ ।


