संविधान दिवसमा ओलीको अपिल: ‘देशको निशानी मेटाउन खोजियो, नयाँ पुस्ता पछुताउनेछ’

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले ७० वर्षको संघर्षबाट प्राप्त संविधानको रक्षा र देशको सार्वभौमसत्तामाथि भएको आक्रमणविरुद्ध एकताको अपिल गरेका छन्।
संविधान दिवसको अवसरमा जारी एक शुभकामना सन्देशमा लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित गरेको संविधानलाई उनले नेपाली जनताले आफ्नो भविष्य रेखाको रूपमा चित्रण गरेका छन्।
ओलीले संविधान जारी हुँदाको नाकाबन्दी र सार्वभौमसत्तामाथिका चुनौतीलाई परास्त गरेको स्मरण गर्दै नेपाललाई भूजडित बनाउन उत्तर-दक्षिण यातायात संरचना र उत्तरी छिमेकीसँग पारवहन सम्झौता गरिएको उल्लेख गरे। उनले देशको अर्थतन्त्र बलियो हुँदै गएको र विकासका जग बसालिएको दाबी गरे।
उनले गत साता जेन-जी आन्दोलनका क्रममा भएको हिंसा, जसलाई उनले षड्यन्त्रकारीहरूको घुसपैठको परिणाम भनेका छन्। जेन-जी आन्दोलनमा युवाहरूको ज्यान गएकोमा गहिरो दुख व्यक्त गर्दै प्रहरीले स्वचालित हतियार प्रयोग नगरेको र प्रदर्शनकारीलाई गोली हान्ने आदेश नदिएको दाबी समेत उनको छ। पूर्वप्रधानमन्त्री ओलीले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। साथै, दिवङ्गत युवाहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्यलाभको कामना व्यक्त गरे।
ओलीले हालैको अवस्थालाई संविधानमाथिको ठूलो आक्रमणको रूपमा चित्रण गर्दै सिंहदरबार, नेपालको नक्सा, जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र नेताकार्यकर्ताका घरहरूमा भएको तोडफोड र आगजनीलाई देशको निशानी मेटाउने प्रयासको रूपमा व्याख्या गरेका छन्। उनले यी घटनापछाडिको षड्यन्त्रबारे समयले प्रष्ट पार्ने समेत बताए।
