अख्तियार आयोग कार्यालयबाट लुटिएका सामान फिर्ता गर्न आग्रह

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगका विभिन्न कार्यालयबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ ।
आयोगको टंगालस्थित कार्यालयले आइतबार सूचना जारी गर्दै इटहरी, हेटौंडा, पोखरा, बुटवललगायत कार्यालयमा तोडफोड र आगजनी गरेर लुटपाट भएका उपकरणहरू फिर्ता गर्न भनेको हो ।
यी कार्यालयहरूबाट तोडफोड, आगजनी, चोरी र लुटपाट भएको आयोगले जनाएको छ । यस क्रममा चारपांग्रे र दुईपांग्रे सवारी, टिभी, कम्प्युटर, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोबाइल,ल्यापटप, हिटर, पंखालगायत उपकरणहरू चोरी भएको आयोगले जनाएको छ । कसैले सामान फेला पारेमा काठमाडौंको हकमा प्रहरी वृत्त मालिगाउँ र अन्यको हकमा सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूमा बुझाउन भनिएको छ । चोरी र लुटपाटमा संलग्नमाथि सिसिटिभी फुटेजमार्फत पहिचान गर्ने काम भइरहेको आयोगले जनाएको छ ।
जेन–जीको अगुवाईमभा भएको आन्दोलन पछिको प्रदर्शनका क्रममा आयोग केन्द्रीय र प्रदेशका विभिन्न कार्यालयहरूमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । टंगाल कार्यालयमा पनि आगजनी भएकामा ठूलो क्षति हुनबाट जोगिएको थियो ।