कमला मदन आश्रित माविमा विद्यार्थीको ब्लड ग्रुपिङ्ग अभियान निरन्तरता

झापा | शिक्षा र स्वास्थ्यलाई सँगै अघि बढाउने उद्देश्यका साथ श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालय, कमल–२ ले विद्यार्थीहरूको ब्लड ग्रुपिङ्ग अभियान लाई निरन्तरता गरेको छ। स्थानीय कमल नगर अस्पतालसँगको सहकार्यमा आयोजित यस अभियान अन्तर्गत अस्ति पहिलो दिन ५१ जना विद्यार्थीहरूको रगत समूह (Blood Group) परीक्षण गरिएको थियो भने आज ४८ जनाको गरिएको कमल नगर अस्पताल प्रमुख दिपक दाहालले जानकारी दिएका छन।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष होम बरालले चाडपर्वको व्यस्तता बीच पनि विद्यार्थी स्वास्थ्यप्रति जिम्मेवारीबाट पछि नहट्ने बताउँदै निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो– “शिक्षा र स्वास्थ्य दुवै विद्यार्थीको आधारभूत हक हो। यो अभियानले विद्यार्थीलाई जीवनरक्षक ज्ञान दिएको छ भन्ने कुरामा म सन्तुष्ट छु।”
अस्ति पहिलो दिन ५१ विद्यार्थीले आफ्नो ब्लड ग्रुप थाहा पाएको र आज ४८ जनाले थाहा पाएका छन भने आगामी वडा दशैको बिदा अघि नै सबै विद्यार्थीको परीक्षण सम्पन्न गर्ने योजना रहेको अध्यक्ष होम बराल ले बताउनु भयो। उहाँका अनुसार, यसले विद्यार्थीहरूमा स्वास्थ्य सचेतना मात्र होइन, समुदायमै जीवनरक्षक पहल गर्ने प्रेरणा दिनेछ।
अभियानमा डा. फुलक चन्द्र लावती, डा . रेश्मा दाहालले विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गर्नुभयो भने ल्याब असिस्टेन्ट गीता न्यौपाने र ल्याब टेक्निसियन बिपिना श्रेष्ठले अस्पतालको दैनिक कार्यभारसँगै विद्यार्थिको ब्लड ग्रुपिङ्ग सम्पन्न गर्नुभयो।
कमल–२ कार्यबाहक वडा अध्यक्ष भिम सिह कार्किले यस्तो पहलले विद्यार्थी मात्र नभई समुदायलाई पनि लाभ पुग्ने बताउनुभयो। उहाँले भन्नुभयो– “रगत अभावले आपतकालीन अवस्थामा समस्या निम्त्याउन सक्छ। विद्यार्थीहरूले आफ्नो ब्लड ग्रुप थाहा पाएपछि आवश्यक बेला समाजमै सहयोग गर्न सहज हुन्छ।”
कमल नगर अस्पताल प्रमुख दिपक दाहालले विद्यालयसँगको सहकार्यलाई उत्साहजनक भन्दै यसले स्वास्थ्यमैत्री वातावरण निर्माणमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयले यो अभियानलाई प्रत्येक वर्ष निरन्तरता दिने जनाएको छ। शिक्षा र स्वास्थ्यलाई जोड्ने यस्ता गतिविधि भविष्यमा ‘विद्यालयमै ब्लड ग्रुपिङ्ग : भविष्यको रगत बैंक’ बन्ने विश्वास गरिएको छ।