लुम्बिनी प्रदेशमा साउन महिनामा विपद्का घटनाबाट ४३ जनाको मृत्यु

लुम्बिनी प्रदेशमा गत साउन महिनामा मात्रै विभिन्न विपद्का घटनामा परेर ४३ जनाले ज्यान गुमाएका छन्। प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार एक महिनाको अवधिमा १५४ जना घाइते भएका छन् भने २ जना अझै बेपत्ता छन्।
बाढी, डुबान, अतिवृष्टि, आगलागी, विषालु खाद्य सेवन, पहिरो, जनावर आक्रमण र चट्याङलगायतका ३३५ वटा विपद्का घटनाले मानवीय क्षति पुर्याएका छन्।
यी घटनामा बाढीका कारण २, पानीमा डुबेर २७, आगलागीमा १, विषाक्त खाना सेवनबाट ४, सर्पदंशले ८ र अन्य कारणले १ गरी ४३ जनाको मृत्यु भएको विवरण छ।
प्रदेशस्तरीय विवरणअनुसार कपिलवस्तुमा ९, दाङमा ७, रूपन्देहीमा ५, रोल्पामा ४, प्यूठानमा ४, बर्दियामा ३, बाँके, गुल्मी, पाल्पा र अर्घाखाँचीमा २–२, नवलपरासी पश्चिममा २, र रुकुम पूर्वमा १ जनाको मृत्यु भएको छ।