
काठमाडाैं। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले समाजवादी प्रेस संगठन नेपालका योद्धाले विश्व प्रेस संगठनमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका छन्। शनिबार बानेश्वरमा सम्पन्न पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकलाई शुभकामना दिँदै उनले यस्तो प्रशंसा गरेका हुन्।
ज्वालाले समाजवादी प्रेस संगठनलाई विद्रोहबाट जन्मिएको संस्था भन्दै यसलाई “आगोको भुङ्ग्रो” का रूपमा चित्रण गरे। उनले अहिले पनि संविधान कुल्चने काम भइरहेको दाबी गर्दै पार्टी विद्रोह पदलोभ वा व्यक्तिगत आकांक्षाबाट नभई दमनविरुद्ध भएको स्पष्ट पारे।
उनले भने, “हामी थोरै छौं तर निरन्तर मैदानमा छौं। पार्टी मिसनसहित स्थापना भएकोले एक दिन सफलता पाउने छ।” साथै, अब संविधान संशोधनको आवश्यकता औंल्याउँदै उनले १० वर्षमा धेरै परिवर्तन आइसकेको कारण समयसापेक्ष संशोधन अपरिहार्य रहेको धारणा व्यक्त गरे।
प्रेस स्वतन्त्रतामा अंकुश लगाउने मिडिया काउन्सिल विधेयकप्रति आक्रोश व्यक्त गर्दै ज्वालाले त्यसलाई गलत भन्दै सरकारलाई सचेत गराए। लोकतन्त्रमा संविधानले दिएको प्रेस स्वतन्त्रताको अधिकार खोस्ने प्रयास नगर्न आग्रह गर्दै उनले भूमि तथा शिक्षा सम्बन्धी विधेयकसमेत त्रुटिपूर्ण भएको बताए। यसका विरुद्ध आन्दोलनको घोषणा गर्नुपर्ने उनको जोड थियो।

