सप्तरीमा आमाको हातबाट शिशु हत्या, आमा उपचारका लागि धरान पठाइँदै
सप्तरीमा आमाको हातबाट शिशु हत्या, आमा उपचारका लागि धरान पठाइँदै

सप्तरीको रूपनी गाउँपालिका–१, रायपुरमा घर भएकी एक महिलाले आफ्नै २० दिने छोराको हत्या गरेको घटना सार्वजनिक भएको छ । खडक नगरपालिका–८, बगोल भदियामा बस्दैआएकी ३० वर्षीया मानसिक सन्तुलन ठीक नभएकी आइसा खातुनले २० दिने शिशुको खुकुरी प्रहार गरी हत्या गरेकी हुन् ।
खडक नगरपालिका स्थित माइतीमा घरमा बस्दै आएकी आइसाले आफ्नै छोरा २० दिने शिशुलाई धारिलो हतियारले टाउकोमा प्रहार गरी घाइते बनाएकी थिइन् । खुकुरी प्रहारबाट गम्भीर घाइते शिशुलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइए पनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
घटनापछि खुकुरीसहित आइसालाई नियन्त्रणमा लिएर प्राथमिक स्वास्थ्य केन्द्र कल्याणपुरमा स्वास्थ्य परीक्षण गराउँदा मानसिक सन्तुलन ठीक नभएको चिकित्सले लेखिदिएपछि उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको बस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार आइसालाई उपचार गराउन आमा र भाइसँगै प्रहरी सहायक निरीक्षक हरिराज सिंहको कमान्डमा तीन जना प्रहरी पठाइएको छ । मृतक शिशुको कोसी अस्पताल विराटनगरमा शव परीक्षणपश्चात मृतकको माइजु सचिला खातुनले शव बुझिलगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।