रेखा–पूजाको जोडी ‘३६ को आँकडा’मा, शुभसाइतसँगै छायांकन शुरु हुँदै

अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा फिल्म ‘३६ को आँकडा’ निर्माण हुने भएको छ । शनिबार पशुपति मन्दिरमा शुभसाइत पूजा गरियो ।
त्यसअघि रेखाले सामाजिक संजालबाट पहिलो झलक सार्वजनिक गरेकी छन् । पोस्टरमा रेखा र अभिनेत्री पूजा शर्मालाई फिचर्ड गरिएको छ । फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् ।
फिल्मको शीर्ष भूमिकामा रेखा र पूजाले अभिनय गर्दैछन् । पोस्टरमा प्रहरी अधिकारीको भूमिकामा प्रस्तुत भएकी रेखाले पूजालाई हत्कडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ ।
पोस्टरमा रेखाको अनुहारमा संघर्षपछि प्राप्त विजयको अभिव्यक्ति देखिन्छ भने पक्राउ परेकी पूजाको अनुहारमा अझै टक्कर जारी रहेको भाव झल्किन्छ ।
शुभसाइत पूजापछि रेखाले भन्नि, ‘हरेक घरभित्र सुक्ष्म किसिमको महाभारत चलिरहेको छ । प्रेमपूर्वक प्रदर्शन हुँदैछ । सबै ‘३६ को आँकडा’ झगडा मात्र होइन, त्यहाँ प्रेम पनि हुन्छ ।’
छायांकन सोमबारदेखि सुरु हुने जनाइएको छ । फिल्ममा महेश त्रिपाठी र पुष्प खड्काले पनि अभिनय गर्नेछन् ।
निर्देशक श्रेष्ठ र अभिनेत्री थापाले यसअघि रामप्यारी, तथास्तु, काली, इशारा, कसले चोर्यो मेरो मनजस्ता फिल्ममा सहकार्य गरेका छन् ।
