७० नाघेका नेपाल, खनाल र गौतमबीच समाजवादीमा ‘जुँगाको लडाइँ’
काठमाडौँ —उमेरले ७० वर्ष पार गरिसकेका एमालेका तीन पूर्व प्रभावशाली नेता माधकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम एकीकृत समाजवादीको एउटै छातामुनि छन् । एमालेमा रहँदा अध्यक्ष, महासचिव, उपाध्यक्षको भूमिका निभाएका यिनै तीन नेताबीच यतिबेला भने त्रिपक्षीय द्वन्द्व सुरु भएको छ ।
समाजवादीका अध्यक्ष नेपाल, सम्मानित नेता खनालसँगै २०७८ भदौमा एमालेबाट अलग भएका थिए । गौतम भने लामो दोमन र यताउतीपछि बामदेव साउन २ मा समाजवादीमा भित्रिए । गौतम समाजवादीमा भित्रिनुअघि नै नेपाल र खनालबीच मनुमुटाव सुरु भइसेकको थियो । दुई नेताबीचको सुसुप्त द्वन्द्व भने गौतम मिसिएपछि सतहमै प्रकट भयो । पार्टी एकता गर्ने बेला संगठन विभाग दिने सहमति भएको भन्दै गौतमले सार्वजनिक रुपमै असन्तुष्टि पोख्न थालेका छन् ।
अध्यक्ष नेपाल (७३ वर्ष) खनाल (७६ वर्ष) र गौतम (७७ वर्ष) पुगिसकेका उनीहरुबीच राजनीतिक, वैचारिकभन्दा ‘जुँगाको लडाइँ’ ले दोस्रो तहका नेताहरुलाई दिक्क बनाउन थालेको छ । नयाँ वैचारिक आन्दोलन सुरु गर्ने अकांक्षा बोकेको महासचिव घनश्याम भुसालले यी नेता मिलाउन सकस झेल्नु परेको छ ।
२०७८ भदौमा एमालेबाट विभाजन भई अलग पार्टी बनाए पनि समाजवादीभित्र नेपाल र खनालबीच ‘जुँगाको लडाइँ’ रोकिएको छैन । वरिष्ठ नेतासहित समाजवादीमा मिसिएका गौतमले एक महिना नपुग्दै संगठन विभाग प्रमुख नपाएको भन्दै असन्तुष्टि पोख्न थालेका छन् । नेपालले आफ्ना विश्वासिला नेता उपाध्यक्ष बेदुराम भुसालले हेर्दै आएको संगठन विभाग गौतमलाई दिन चाहेका छैनन् । त्यसपछि खनाल र गौतमबीच छलफल भएको थियो । यसले नेपाललाई सशंकित बनाएको छ ।
नेपालसँग असन्तुष्ट भइरहेका बेला शनिबार खनाल र गौतमबीच भेटवार्ता भयो । खनाल र गौतम नजिकिन थालेपछि नेपाल र खनालबीच शनिबारै संवाद भयो । एमाले विभाजन गरी नयाँ पार्टी बनाएको औचित्य नभएको खनालले बताएपछि नेपालले पार्टी छोड्नु उपयुक्त हुने जवाफ फर्काएका थिए । त्यसको प्रतिउत्तरमा खनालले समाजवादी पार्टी नेपालको ‘निजी’ नभएको बताए । त्यसपछि यि दुई नेताबीच सवालजवाफ निरन्तर जारी छ । जसले उनीहरुबीचको चिसिँदो सम्बन्धलाई प्रस्टै बुझाउँछ ।
दुई नेताबीच सवालजवाफ चलेपछि महासचिव घनश्याम भुसाललगायत नेताहरुले नेपाल र खनालबीच संवाद गराएका थिए । पार्टी केन्द्रीय कार्यालय सुविधाननगरमा शनिबार भएको भेटवार्ताले नेपाल र खनालबीच सावर्जनिक रुपमा सवाल–जवाफ नगर्ने समझदारी बनेको छ । भेटमा खनालले आफ्नो बोली सच्याएको एक नेताले बताए । ‘मैले एमाले विभाजन गर्नुको औचित्य पुष्टि गर्न सकनौं अझै पार्टी निर्माण गर्नुपर्छ भनेको हो,’ खनालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘मैले एमालेबाट अलग हुन गलत थियो भनेको होइन ।’
नेपालले आफूलाई पार्टी छोड्न भनेको भन्दै खनालले आपत्ति जनाएका थिए । ‘मलाई पार्टी छाड् भन्नु ठिक भयो त ?’ खनालको प्रश्नमा अध्यक्ष नेपालको भनाइ थियो, ‘मैले एमालेबाट विद्रोह गर्नु गलत थियो भन्नेहरुले पार्टी छाड्दा राम्रो हुन्छ भनेको हो । व्यक्ति तोकेर भनेको होइन ।’
खनालले आफूलाई थाहै नदिई निर्णय गरेकोमा आपत्ति जनाएका थिए । माओवादीसँग पार्टी एकताका लागि कुरा चलाएको भन्ने विषयमा चासो राखेका थिए । ‘माओवादीसँग एकता छिट्टै हुन्छ भन्ने सुनिन्छ । पार्टीमा केही छलफल भएको छैन । विधि अनुसार पार्टी चलाऔं भनेको हो । मेरो चासो अरु होइन’ खनालको भनाइ थियो ।
नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भएको पछिल्ला भेटमा पार्टी एकता गर्न प्रस्ताव गरेका थिए । माओवादीको स्थायी समितिले नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग पार्टी एकता गर्ने निर्णय गरे पनि समाजवादीसँग एकताको प्रस्ताव अघि बढाएन ।
अध्यक्ष र सम्मानित नेताबीच भएको छलफलले कुनै विषयमा असहमति भए पार्टीभित्र छलफल गरेर टुंगोमा पुर्याउने सझदारी भएको समाजवादी उपाध्यक्ष बेदुराम भुसालले बताए । ‘पार्टीमा फरक मत हुन सक्छ । सार्वजनिक रुपमा होइन, पार्टीभित्र छलफल गरेर टुंग्याउन सकिन्छ भन्ने भएको छ,’ उनले भने, ‘विधिवत् तरिकाले असमति सुल्झ्याउनुपर्छ भन्नेमा विमति छैन ।’
खनालले सार्वजनिक खपतका लागि फरक धारणा सार्वजनिक गरेकाले त्यसलाई अन्तरपार्टी छलफलको विषय बनाउनुपर्नेमा अध्यक्ष नेपाल पुगेका छन् । ‘सार्वजनिक रुपमा मनलाग्दो बोल्दै आउने हो भने त्यो आन्तरिक छलफल र अनुशासनको विषय बन्छ’ नेपालले निकट नेताहरुसँग भन्दै आएका छन्, ‘पहिलो पटक सचेत गराउने त्यसपछि पनि उस्तै कमजोरी दोहोरिए कारबाहीको विषय बन्छ ।’
नेता बामदेव गौतमसँग पार्टी एकता गर्दा आफूसँग परामर्श नगरेको, जिम्मेवारी बाँडफाँटमा एकलौटी गरेको भन्दै खनाल असन्तुष्ट भएका छन् । ‘वामदेवजीसँग एकता गर्दा पार्टीमा छलफल भएन । अरु विषय पनि एकलौटी भएको छ,’ खनालको भनाइ छ, ‘मैले पार्टी विधि अनुसार चल्नुपर्छ भन्ने धारणा राखेको हो ।’
नेता गौतमले आफू र खनालबीच कम्युनिस्ट आन्दोलन लगायत विषयमा कुराकानी भएको बताए । ‘हाम्रो सम्बन्ध निकै पुरानो हो । लामो समयपछि हामीले विगतका धेरै सम्बन्धहरुमा कुराकानी गर्यौं,’ दुई नेताबीच अर्को गुट बनाउन लागेको हो ? भन्ने प्रश्नमा उनले भने, ‘हामी पार्टी बनाउने पक्षमा छौं । गुट बनाउने कुनै कुरा छैन ।’
महासचिव भुसालले आइतबार बेलुका स्थायी, पोलिटब्युरो, केन्द्रीय समितिका नेताहरुलाई बैठक पर सरेको सूचना जारी गरेका थिए । चाडपर्वहरूका कारणले पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकका दिनहरूमा परिवर्तन गर्नुपरेको सूचनामा उल्लेख छ । सूचना अनुसार भदौ २५ मा स्थायी, २६ मा पोलिटब्युरो र २७ र २८ मा केन्द्रीय समिति बोलाइएको छ । नेताहरुले नेपाल, खनाल र गौतमबीच देखिएको त्रिपक्षी द्वन्द्व मिलाउन बैठक पर सारेको नेताको भनाइ छ ।
एकीकृत समाजवादीको वरिष्ठ नेता र संगठन विभाग प्रमुख दिने आश्वासनसहित समाहित भएका वामदेव गौतमले संगठन विभाग नपाउने भएका छन् । हाल संगठन विभाग उपाध्यक्ष बेदुराम भुसालले हेर्दै आएका छन् । गौतमलाई संगठन विभाग प्रमुख बनाउँदा अध्यक्ष माधवकुमार नेपालविरुद्ध गतिविधि हुन सक्ने आशंका गर्दै उनलाई अरु नै जिम्मेवारी दिन लागेको एक पदाधिकारीले बताए ।
‘वामदेवजीलाई संगठन विभागबाहेक अरु नै जिम्मेवारी दिइने छ,’ ती नेताले भने, ‘पार्टी एकता गर्दा वरिष्ठ नेता पक्का गरिएको थियो भने संगठन विभागबारे विचार गर्न सकिने भनिएको थियो ।’ नेता गौतमले हालसम्म आफूले जिम्मेवारी नपाउँदा छट्पटी भएको भएको बताए । पार्टीले दिने जिम्मेवारी अनुसार आफू चल्ने उनको भनाइ छ ।
‘अब म संगठन विभाग नपाए पनि कही जान्नँ,’ उनले भने, ‘काम देखाउने जिम्मेवारी लिन चाहन्छु । पार्टीले त्यस्तै निर्णय गर्ला ।’ एकीकृत समाजवादीको पदाधिकारी बैठक साउन ३० को पदाधिकारी बैठकले गौतमलाई जिम्मेवारी दिइने छ । ‘अब बस्ने पदाधिकारी बैठकले नेता वामदेवलाई जिम्मेवारी तोक्छ,’ उपाध्यक्ष बेदुराम भुसालले बताए ।
साभार : कान्तिपुर समाचार
