
काठमाडौँ । अबदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को छपाइ सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ। बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबीच यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो।
विभागका निर्देशक नरहरि तिवारीका अनुसार केन्द्रले तत्कालका लागि लाइसेन्स स्मार्ट कार्ड छाप्ने गरी प्रारम्भिक समझदारी भएको छ। पुराना २५ लाख लाइसेन्समध्ये करिब १२ लाख लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने सम्झौता भएको छ। उनका अनुसार आगामी ३ देखि ६ महिनाभित्र यी १२ लाख लाइसेन्स छापी वितरण गरिनेछ।
“केन्द्रसँग लाइसेन्स छाप्नेबारे सम्झौता भएको छ। अहिलेका लागि १२ लाख कार्ड छाप्ने तयारी हो, केही प्राविधिक पक्ष मिलाउन बाँकी छ। सम्भवतः एक हप्ताभित्र छपाइ सुरु हुनेछ,” निर्देशक तिवारीले बताए।
लामो समयदेखि लाइसेन्स नपाएर सास्ती भोगिरहेका सेवाग्राहीलाई राहत दिने उद्देश्यले यो पहल गरिएको हो। विभागका अनुसार तत्काल आवश्यक परेकालाई र लामो समयदेखि प्रतीक्षा सूचीमा रहेका नागरिकलाई प्राथमिकताका साथ लाइसेन्स वितरण गरिनेछ।
छपाइको सुरुवातमा सानो संख्याबाट काम थालिने र क्रमशः क्षमता बढाउँदै लगिने योजना विभागको छ। वैदेशिक रोजगारीमा जाने वा तत्काल लाइसेन्स आवश्यक पर्ने व्यक्तिका लागि केन्द्रले दैनिक ५ सय लाइसेन्स तुरुन्त छापेर दिने सहमति भएको छ।
गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा तोडफोड र आगजनी हुँदा लाइसेन्स छपाइ मेशिन पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। हाल विभागले अस्थायी टहरोमार्फत अन्य सेवा सुचारु गर्ने तयारी गरेको छ।

