HomeUncategorizedसैनिक सेवाबाट श्रमिक आन्दोलनसम्म – बेद प्रसाद हुमागाईं (गोबिन्द)

सैनिक सेवाबाट श्रमिक आन्दोलनसम्म – बेद प्रसाद हुमागाईं (गोबिन्द)

Date:

काठमाडौं । काभ्रेपलान्चोक साविकको बलथली–४ (हालको पनौती नगरपालिका–११) मा विक्रम संवत २०१९ सालमा जन्मिएका बेद प्रसाद हुमागाईं ‘गोबिन्द’ जीवनको यात्रा सहज थिएन।

२०३९ सालमा नेपाल सेनामा प्रवेश गरेका उनले १६ वर्ष ३ महिना देशको सेवामा बिताए। तर ३५ वर्षकै उमेरमा आमाको निधन र जेठो छोराको जिम्मेवारीले उनलाई सैनिक सेवाबाट राजीनामा दिन बाध्य तुल्यायो। भाइहरूको जिम्मा, बुबाको साथ, र परिवारको आधार बन्ने यात्राबाट उनको अर्को जीवन अध्याय सुरु भयो।

गाउँ फर्किएपछि जनयुद्धको प्रभाव, परिवारमा आर्थिक संकट र जीविकोपार्जनको चुनौती आयो। त्यस क्रममा उनी त्रिभुवन विश्वविद्यालय प्रशासनिक सेवामा प्रवेश गरे। यही बीच उनले नेपाल राष्ट्रिय कर्मचारी संगठन हुँदै श्रमिक आन्दोलनमा पाइला टेक्दै १७ वर्षसम्म कर्मचारी–श्रमिकसँग नजिक भएर काम गरे।

२०६४ सालमा नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनमा केन्द्रीय सदस्य बने। पछि बागमती प्रदेश अध्यक्ष हुँदै हालसम्म ३ वर्षदेखि संगठनको केन्द्रीय महासचिवको जिम्मेवारी सम्हाल्दै आएका छन्। यस अवधिमा उनले सुरक्षा श्रमिक, सरसफाइ श्रमिकदेखि सबै श्रमिक वर्गका मुद्दा उठाएर न्याय दिलाउने अभियानलाई निरन्तर अगाडि बढाएका छन्।

हालै सम्पन्न नेकपा (एकीकृत समाजवादी) मजदुर काठमाडौं जिल्ला कमिटीको प्रथम अधिवेशनले उनलाई उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको छ। उनले आफ्नो भूमिकालाई यसरी व्याख्या गरे—“मेरो भूमिका भनेको आम श्रमिकलाई कसरी न्याय दिलाउन सकिन्छ भन्ने हो। संगठन र पार्टी दुवैलाई मजदुरमैत्री बनाउन दृढताका साथ लागिरहन्छु।”

महासचिवका हैसियतमा संगठन विस्तार, व्यवस्थापन र न्यायका लागि सक्रिय भूमिका खेलेका हुमागाईं अब उपाध्यक्ष बनेर श्रमिकको मुद्दालाई पार्टीको मूल धारमा लैजाने लक्ष्य राख्छन्। उनी भन्छन्—“पार्टीलाई श्रमिकको पार्टी बनाउने, श्रमिकलाई पार्टीसँग जोड्ने र तत्कालै ठोस निर्णयमार्फत न्याय दिलाउने हाम्रो अठोट हो।”

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here