
रौतहट — रौतहटको गौरी–सिरसिया सडकखण्डअन्तर्गत मुढवल्वा मोड नजिकै सडक छेउमा सूटकेसभित्र एक महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजन कार्कीका अनुसार शनिबार राति करिब १०:३० बजे सडक किनारमा डोरीले बाँधिएको सूटकेस फेला परेको थियो। आइतबार बिहान प्रहरीले सूटकेस खोल्दा करिब ३० वर्षकी एक महिलाको शव भेटिएको हो।
प्रहरीले मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको र अनुसन्धान जारी रहेको जनाएको छ। प्रारम्भिक अनुमानअनुसार महिलाको हत्या गरी शव सूटकेसभित्र राखिएको हुनसक्ने देखिएको छ, किनभने शवमा लुगा च्यातिएको अवस्थामा फेला परेको छ।
घटनाबारे थप अनुसन्धान गर्न प्रहरीले नजिकै रहेको विद्यालयको CCTV फुटेज समेत संकलन गरिरहेको जनाएको छ।

