
झापा । निरन्तर झरी र बादलले ढाकिएको आकाश, साथै सार्वजनिक बिदाको दिन भए पनि कमल गाउँपालिका–२, भुत्लुङ्गमा यस महिनाको नियमित खोप सत्र उत्साहपूर्वक सम्पन्न भएको छ।
कमल नगर अस्पतालले हरेक महिनाको १५ गते सञ्चालन गर्दै आएको उक्त कार्यक्रम ग्रामीण भेगका बालबालिका र गर्भवती महिलालाई सहज र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको हो।
आजको सत्रमा बालबालिकालाई विभिन्न खोपका मात्रा र गर्भवती महिलालाई टीडी (TD) लगायतका खोपहरू प्रदान गरिए। साथै सरसफाइ, पोषण, तथा मातृ–शिशु स्वास्थ्यसम्बन्धी सचेतना सत्र पनि सञ्चालन गरिएको थियो।
प्रतिकूल मौसम र सार्वजनिक बिदाको चुनौतीका बीच पनि सेवा अवरुद्ध हुन नदिने स्वास्थ्यकर्मीहरूको समर्पण प्रशंसनीय रहेको स्थानीयहरूले बताएका छन्। सत्र सञ्चालनमा स्वास्थ्यकर्मी दीपक प्रसाद दाहाल, अञ्जना सापकोटा, महिला स्वास्थ्य स्वयंसेविका इन्दिरा खड्का र स्थानीय आमाबाबुहरूको सक्रिय सहभागिता रहेको थियो।
सेवाग्राही भीमा विश्वकर्माले भनिन्, “कमल नगर अस्पतालले भुत्लुङ्गमा हरेक महिना नियमित खोप सेवा सञ्चालन गर्दै आएको छ। सार्वजनिक बिदा र झरीका बाबजुद पनि आज सेवा निरन्तर भएकोमा हामी खुशी छौं।”
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले स्वास्थ्य सेवा, विशेषगरी मातृ–शिशु स्वास्थ्य र नियमित खोप कार्यक्रमलाई गाउँपालिकाको प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँका अनुसार, यस कार्यक्रमले गाउँका बालबालिका र आमाबाबुका लागि सहज र गुणस्तरीय सेवा सुनिश्चित गरेको छ।
त्यस्तै, वडा नं. २ का अध्यक्ष अशोक सुब्बाले भन्नुभयो, “सार्वजनिक बिदा भए पनि सेवा निरन्तर राख्न अस्पताल र स्वास्थ्यकर्मीहरूसँग निरन्तर समन्वय हुँदै आएको छ। यसले गाउँको स्वास्थ्यमा प्रत्यक्ष सकारात्मक प्रभाव पारिरहेको छ।”
कमल नगर अस्पतालका मेसु डा. फुलक चन्द्र लावतीका अनुसार, नियमित खोप सत्र स्वास्थ्य पूर्वाधार विस्तारको आधार हो। “यसले बालमृत्युदर घटाउने, मातृ–शिशु स्वास्थ्य सुधार्ने र गाउँमा रोगप्रतिरोधात्मक क्षमता बढाउने महत्वपूर्ण भूमिका खेलिरहेको छ,” उहाँले बताउनुभयो।
अस्पताल प्रशासनका अनुसार भोलि आइतबार पनि कमल नगर अस्पतालमा नियमित खोप सेवा सञ्चालन हुने जानकारी दिइएको छ।

