
मोरङ। कलाकार तथा मोडल शान्ति पाख्रिन लामाले सामाजिक सञ्जालमा लेख्दै हालको सरकारले विपद् व्यवस्थापनमा देखाएको सक्रियता र पूर्वतयारीको उच्च प्रशंसा गरेकी छन्।
उनका अनुसार, मौसमविद्ले समयमै ठुलो वर्षाको सम्भावना औंल्याएपछि सरकारले जोखिमपूर्ण राजमार्गमा रातिको सवारी सञ्चालन बन्द गर्नेदेखि हवाई मार्गहरू स्थगन गर्ने निर्णयसम्म चाँडै गरेको छ। स्थानीय तहहरूमा विपद् व्यवस्थापन टोली परिचालन गरिएको र जनतालाई तत्काल सूचना सम्प्रेषण गरिएको उनले स्टाटसमा उल्लेख गरेकी छन्।
प्रधानमन्त्री स्वयंले जनतालाई सम्बोधन गरेको, ट्राफिक प्रहरीले नागढुङ्गा लगायत स्थानमा यात्रामा सावधानी अपनाउन आग्रह गरेको, प्रमुख जिल्ला अधिकारीहरूले आवश्यक नभई यात्रा नगर्न सुझाएको र गृह मन्त्रालय तयारी अवस्थामा रहेको तथ्यलाई उनले सकारात्मक रुपमा प्रस्तुत गरेकी छन्।
साथै, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई उद्धारका सामग्रीसहित तयारी अवस्थामा राखिएको र मोबाइलमार्फत समेत सतर्कता सन्देश सम्प्रेषण भइरहेको उल्लेख गर्दै उनले यसपालि सरकारप्रति विश्वास गर्न सक्ने आधार देखिएको टिप्पणी गरेकी छन्।
गत वर्ष बाढीपहिरोमा २०० भन्दा बढीले ज्यान गुमाउँदा तत्कालीन प्रधानमन्त्रीको गैरजिम्मेवार भनाइ सम्झिँदै पाख्रिनले हालको सरकारको समयमै गरिएको तयारीलाई “जलन्त उदाहरण” भन्दै प्रशंसा गरेकी हुन्।
उनले लेखेकी छन्, “प्राकृतिक विपत्ति रोक्न सकिँदैन तर पूर्वतयारी भए क्षति घटाउन सकिन्छ। आन्दोलनको बलिदानबाट बनेको अहिलेको सुशिला कार्की नेतृत्वको सरकारलाई हार्दिक बधाई तथा शुभकामना।”

