
पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न बाटो खुला भएको छ।
उनीहरूको घरमा भेटिएको जलेको नोट र खरानीमा रहेको अवशेषलाई परीक्षण गरेपछि अनुसन्धान गर्ने बाटो खुला भएको हो। साथै पूर्वऊर्जामन्त्री दीपक खड्कालाई सम्पत्ति शुद्धीकरणको मुद्दामा थप अनुसन्धान अघि बढाउने बाटो खुला भएको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ।
देउवा, दाहाल र खड्काको घरमा विभागको टोली पुगेर मुचुल्का गरिसकेकाले थप अनुसन्धानको प्रक्रिया अघि बढाउन लागिएको हो। विभागका अनुसार प्रश्नहरू तयार गर्ने र आम्दानीका स्रोतहरू पहिचान गर्ने काममा लागेका कारण आरोपितहरूलाई बयानका लागि बोलाउन भने ढिलाइ हुनेछ। उनीहरूको घरको खरानी रहेको अवशेषहरूमा नेपाली र विदेशी मुद्रा भएको पुष्टि भएपछि विभाग थप छानबिनका लागि अघि बढेको हो।
प्रधानमन्त्री सुशीला कार्कीले समेत फरेन्सिक रिपोर्टका आधारमा सम्पत्तिमाथि थप छानबिन गर्न विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई निर्देशन दिएकी छन्। ‘यो विषयमा प्रधानमन्त्रीज्यूले चासो राखेर थप छानबिन गर्न निर्देशन दिनुभएको छ,’ प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले भने। भ्रष्टाचार, राजस्व छली आदि गैरकानुनी कार्यबाट आर्जित सम्पत्तिबारे विभागले तीन नेताको सम्पत्तिमा छानबिन गरिरहेको छ।
उनीहरूले सत्तामा रहँदा शक्तिको आडमा गैरकानुनी सम्पत्ति आर्जन गरेको विभागको बुझाइ छ। गैरकानुनी कार्यबाट आर्जित रकमको स्रोतमा समस्या हुने भएकाले त्यसलाई व्यवस्थापन गर्ने विभिन्न गतिविधि र अवैध रूपमा लगानीसमेत हुने भएकाले सरकारले त्यस्तो लगानीलाई निरुत्साहित गर्ने गरेको छ। देउवा, दाहाल र खड्काको घरमा जलेको नोट पनि स्रोत नभएको जिकिर विभागको छ। तर विभागका अधिकारीहरू यो विषयमा बोल्न चाहन्नन्।
देउवा, दाहाल र खड्काको सम्पत्ति छानबिन गर्ने बाटो खुला भएपछि विभागले अनुसन्धान अधिकृत तोकेर छानबिन थालेको छ। ‘विभागले अनुसन्धान अधिकृत त तोकेको देखायो तर काम कति अघि बढाउँछ, त्यो भने हेर्न बाँकी छ,’ प्रधानमन्त्री कार्यालयका ती अधिकारीले भने। विभागका महानिर्देशक ठाकुरले कुनै पनि व्यक्ति विशेषलाई मात्र लक्ष्य गरेर भन्दा पनि कानुनले तोकेकै आधारमा अनुसन्धान हुने बताए। ‘विभागमा परेका उजुरीबारे सबै बताउन सकिँदैन। अनुसन्धान गोप्य हुन्छ। जोकोही होस्, कानुनले तोकेअनुसार अनुसन्धान अघि बढ्छ। यो व्यक्ति वा त्यो व्यक्ति भन्ने हुँदैन,’ महानिर्देशक ठाकुरले भने।
सम्पत्ति शुद्धीकरण गर्ने चक्रहरू चलिरहने हुँदा पुनः त्यो गैरकानुनी कार्यबाट आर्जित सम्पत्ति आपराधिक कार्यमा प्रयोग नहोस्, आपराधिक कार्य रोकियोस् भनी निवारणात्मक व्यवस्थाअनुसार विभागले उनीहरूको सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत छानबिन अघि बढाएको हो। सरकारले संदिग्ध भनिएका घरहरूमा सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले खरानी संकलन गरी चेकजाँचका लागि नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो।
त्यसको रिपोर्ट केही दिन अघि मात्रै आएको थियो। विभाग र सिआइबीको टोली पुगेर तीन दलका शीर्ष नेता र निवर्तमान सांसद खड्काको घरमा पुगेर मुचुल्का उठाएको थियो। देउवा, दाहाल र खड्काको घरमा देखिएको, भेटिएको नोटको फरेन्सिक चेकजाँचको रिपोर्ट आएपछि प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाललाई समेत ब्रिफिङ गरिसकेर विभागले आफ्नो काम गरिरहेको जनाएको छ। विभागको यो रिपोर्टपछि सम्पत्ति शुद्धीकरणमा सभापति देउवा तथा उनकी पत्नी आरजु राणा देउवा, दाहाल र खड्कामाथि अनुसन्धान गर्ने बाटो खुलेको हो।
विभागको टोलीले नेपाली कांग्रेसका सभापति देउवाको निवास बुढानीलकण्ठ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट, नेकपाका संयोजक पुष्पकमल दाहाल र निवर्तमान ऊर्जामन्त्री खड्काकोे निवास खुमलटारमा पुगेर मुचुल्का उठाएको थियो। ऊर्जामन्त्री खड्काले दसैंका लागि ल्याएको पैसा जलाएको स्वीकार गरेका थिए। देउवाले भने पैसा जलेको विषयलाई अस्वीकार गरेका छन्। भदौ २४ गते जेनजी आन्दोलनका नाममा भएको आगजनीका क्रममा देउवा, दाहाल र खड्काको घरमा पैसाका थुप्रो जलेको भन्दै केही भिडियो सार्वजनिक भएका थिए।
त्यसलाई आधार मानेर सम्पत्ति शुद्धीकरण विभागले मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको थियो। खड्काको घरबाट पैसा फालेको भिडियो समेत सार्वजनिक भएको थियो। जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवाको घरमा डलर र नेपाली रुपैयाँ (हजार/पाँच सयका नोट) जलेका टुक्राहरू भेटिएको विभागको दाबी छ। केही व्यक्तिले देउवाको घरमा पैसा राख्ने सुरुङसमेत भेटिएको दाबी गरे पनि त्यसको पुष्टि भएन। त्यसलाई देउवाका स्वकीय सचिव भानु देउवाले विज्ञप्ति जारी गरेर पैसा राख्ने सुरुङ नभएर अन्डरग्राउन्ड पानी ट्यांकी भएको दाबी गरेका थिए।
दाहाल निवासमा पैसा राख्न प्रयोग गरिने सेफहरू फोडिएका भिडियोहरू सार्वजनिक भएका थिए। विभागका एक अधिकृतले दिएको जानकारीअनुसार देउवा, दाहाल र खड्काको घरमा पुगेर मुचुल्का गर्दा डढेका नोटबाहेक केही भेटिएको थिएन। ओलीको घरमा भने पुस्तकहरू मात्रै जलेको भनिएको थियो। विभागले ओलीको घरको अवशेषबारे केही बताएको छैन। कांग्रेस सभापति देउवा, उनकी पत्नी आरजु र पूर्वमन्त्री दीपक खड्कामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान जारी छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पती र खड्कामाथि हालसम्म संकलित प्रमाण हेर्ने कामलाई तीव्र पारेको छ।
गत असोज ५ गते विभागको टोलीले देउवा र खड्का निवासमा गएर अवलोकन गरी क्षति र सम्पत्तिको मुचुल्का उठाएर ल्याएदेखि नै अनुसन्धान जारी थियो। त्यही क्रममा फरेन्सिक चेकजाँचका लागि पठाएको सामग्रीको रिपोर्ट आइपुगेको थियो। उनीहरूका घरमा भेटिएको र जलेको पैसाबारे चौतर्फी प्रश्न उठेपछि दुई सातापछि असोज ५ मा टोली खटाइएको थियो। टोलीले क्षतिको अवस्था र वस्तुस्थितिसमेत हेरेर मुचुल्का उठाएर लगेपछि त्यहाँको अवशेषलाई चेकजाँचका लागि नेपाल प्रहरीको ल्याबमा पठाइएको थियो। -नागरिक न्युज

