HomeUncategorizedसन्दीप विवादपछि कान्तिपुर टिभीका समाचार प्रमुख विजय पौडेलको राजीनामा

सन्दीप विवादपछि कान्तिपुर टिभीका समाचार प्रमुख विजय पौडेलको राजीनामा

Date:

क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी अपुष्ट समाचारलाई लिएर कान्तिपुर टेलिभिजनको सम्पादकीय नेतृत्वमा ठूलो फेरबदल भएको छ। समाचार प्रमुख विजय पौडेलले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका छन्।

यूएईमा वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा सन्दीप अनुपस्थित भएपछि कान्तिपुर टिभीको वेबसाइटमा प्रकाशित समाचारमा उनले प्रायोजक कम्पनी नासा सेक्युरिटिजको लोगो अंकित जर्सी लगाउन नमानेकाले विवाद भएको दाबी गरिएको थियो। तर सन्दीपले तत्कालै सामाजिक सञ्जालमार्फत उक्त समाचार खण्डन गरेका थिए।

समाचार पुष्टि हुन नसकेको भन्दै भोलिपल्ट कान्तिपुर टिभीको फेसबुक पेजमार्फत क्षमायाचना गर्दै समाचार हटाइएको थियो। तर, यो कदमले विवाद न्युनिकरण गर्न सकेन। कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले नै सामाजिक सञ्जालमार्फत आफ्नै न्युजरुमको आलोचना गर्दै कडा टिप्पणी गरेपछि पौडेलमाथि नैतिक दवाव बढेको थियो। अन्ततः उनले सोमबार राजीनामा दिएका हुन्।

कान्तिपुर टिभी स्रोतका अनुसार पौडेलले राजीनामा दिने दिनै कार्यालयमा सहकर्मीहरूसँग विदा लिएका थिए। हाल कार्यवाहक समाचार प्रमुखको जिम्मेवारी डेपुटी न्युज एडिटर रुपेश श्रेष्ठलाई दिइएको छ। दशैं बिदा सुरु भइसकेकाले पौडेलको औपचारिक बिदाइ कार्यक्रम भने आयोजित गरिएको छैन।

विजय पौडेलले करिब एक वर्षअघि मात्र कान्तिपुर टिभीको सम्पादकीय नेतृत्व सम्हालेका थिए। तर खेलसम्बन्धी समाचारलाई राम्ररी भेरिफाइ नगरी प्रकाशित गर्दा उनको करियर छोटिँदै टुंगिएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here