
झापा । राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत देशभर एकसाथ सञ्चालन भइरहेको राष्ट्रिय भिटामिन ‘ए’ तथा परजीवी निवारण (अल्बेन्डाजोल) खुवाउने अभियान अन्तर्गत कमल गाउँपालिका–२ मा पनि कार्यक्रम आजबाट सुरु गरिएको छ।
कार्यक्रमको औपचारिक शुभारम्भ वडा अध्यक्ष अशोक सुब्बाले महिला स्वास्थ्य स्वयंसेविकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि (अल्बेन्डाजोल) हस्तान्तरण गरेर गर्नुभयो। कार्यक्रममा कमल नगर अस्पतालका प्रमुख दिपक दाहाल, समाजसेवी राजन ढुङ्गाना, वडा सदस्यहरू, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिती रहेको थियो।
अभियानको पहिलो दिन कमल–२ का तीन केन्द्र — पाथिभरा बोर्डिङ स्कूल छेउ, भुत्लुङ केन्द्र, र नवोदय टोल केन्द्रमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
महिला स्वास्थ्य स्वयंसेविका उषा दाहाल, चन्द्रकला ढकाल, इन्दिरा खड्का लगायतको टोलीले बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाए।
६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्ष देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि (अल्बेन्डाजोल) खुवाइएको थियो।
यस अभियानले भिटामिन ‘ए’ को कमीजन्य अन्धोपन, रोग प्रतिरोधात्मक क्षमता घट्ने समस्या र जुका संक्रमणबाट हुने कमजोरी रोकथाममा योगदान पुर्याउने उद्देश्य राखेको छ।
स्वयंसेविकाहरूले विद्यालयमै पुगेर सेवा विस्तार गरेका थिए — पाथिभरा बोर्डिङ स्कूल र कमला–मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा पुगेर पाँच वर्ष मुनिका बालबालिकालाई सेवा प्रदान गरिएको हो।
वडा अध्यक्ष अशोक सुब्बाले भन्नुभयो — “बालबालिकाको स्वास्थ्य र पोषण सुधारका लागि सञ्चालन हुने भिटामिन ‘ए’ कार्यक्रमको महत्व अपार छ। कमल–२ का स्वयंसेविकाहरूले उत्कृष्ट समर्पण देखाएका छन्।”
समाजसेवी राजन ढुङ्गानाले पनि स्वयंसेविकाको समन्वय र योगदानको प्रशंसा गर्दै अभिभावकहरूलाई आफ्नो बच्चा नजिकको केन्द्रमा लैजान अनुरोध गर्नुभयो।
अभियान भोलिसम्म पनि निरन्तर रहनेछ। आज पहिलो दिन उल्लेखनीय संख्यामा बालबालिकाले सेवा प्राप्त गरेका छन् भने छुटेकाहरूका लागि कार्तिक २१ गते (भोलि) पनि कार्यक्रम सञ्चालन हुने अस्पताल प्रमुख दिपक दाहालले जानकारी दिनुभयो ।
स्थानीय विद्यालय, अभिभावक, स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरूको सक्रिय सहभागिताले कमल गाउँपालिका–२ लाई बाल–स्वास्थ्यमैत्री वडा बनाउने दिशामा टेवा पुगेको देखिन्छ।



