Homeराजनीति“लौरो र स्वतन्त्र एकै ठाउँमा” — नयाँ शक्तिहरू एकजुट हुनुको विकल्प छैन...

“लौरो र स्वतन्त्र एकै ठाउँमा” — नयाँ शक्तिहरू एकजुट हुनुको विकल्प छैन (प्रवक्ता : डा. हरि कार्की)

Date:

२०७९ को स्थानीय तह निर्वाचनपछि अटेरी अभियान, लौरो अभियान, नागरिक विद्रोह हुँदै GenZ 2.0 सम्म विभिन्न नाम र स्वरूपमा सक्रिय रहँदै आएको स्वतन्त्र राजनीतिक धार आज स्पष्ट एकतामा उभिएको छ।

लामो समयदेखि उठ्दै आएको “लौरो कता हरायो?” भन्ने प्रश्नको जवाफ आज बुढानगरमा सम्पन्न देशव्यापी भेलाले स्पष्ट रूपमा दिएको छ — लौरो हराएको होइन, स्वतन्त्र चेतनालाई एक ठाउँमा ल्याउने प्रक्रियामा थियो।

आज सम्पन्न भेलामा ८३ जना स्वतन्त्र तथा लौरो उम्मेदवार र ११४ जना विभिन्न स्वतन्त्र अभियानका प्रमुख अभियन्ताहरू सहित करिब दुई सयको हाराहारीमा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। भेलामा सहभागीहरूले लौरो अभियान र स्वतन्त्र राजनीतिक धारलाई एउटै साझा प्लेटफर्ममा अघि बढाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरे।

भेलाले नयाँ शक्तिहरू आ–आफ्नै दिशामा छुट्टिएर हिँड्दा कहीँ पनि नपुगिने निष्कर्ष निकाल्दै अब एकता अपरिहार्य भएको स्पष्ट सन्देश दिएको छ। नयाँ शक्ति बन्ने धरोहर, जरा र इतिहास नबुझी अघि बढ्दा आन्दोलनहरू कमजोर हुने र दिशाहीन हुने चेतावनी पनि भेलाबाट दिइयो।

लौरो अभियानका केन्द्रीय प्रवक्ता डा. हरि कार्कीका अनुसार आजको भेला केवल छलफल नभई राजनीतिक स्पष्टताको मोड हो।

“२०७९ यता एउटै आन्दोलन विभिन्न नाममा निरन्तर संघर्षरत रह्यो। आज लौरो र स्वतन्त्र एकै ठाउँमा उभिएका छन्। टुक्रिएर होइन, एकजुट भएर मात्रै वैकल्पिक राजनीति सम्भव हुन्छ,” उहाँले बताउनुभयो।

राजनीतिक विश्लेषकहरूका अनुसार यस भेलाले काठमाडौं महानगर प्रमुख बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीसहित समग्र नयाँ राजनीतिक धारलाई गम्भीर सन्देश दिएको छ। स्वतन्त्र राजनीति अब भावनामा होइन, संगठन, संख्या र साझा रणनीतिमा अघि बढ्ने संकेत आजको भेलाले दिएको उनीहरूको बुझाइ छ।

भेलाबाट लौरो अभियानको भावी दिशा, स्वतन्त्र राजनीतिक शक्तिहरूबीचको समन्वय, साझा संरचना र आगामी रणनीतिबारे महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here