
चाहना जोगि, दमक । लायन्स क्लब दमक सेविकाको आयोजनामा दमक – ७ स्थित किओच बाल अस्पतालमा बिरामीका कुरुवाका लागि बस्ने कुर्सी वितरण कार्यक्रम आज सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाईं) रहनुभएको थियो भने कार्यक्रमको सभापतित्व लायन्स क्लब दमक सेविकाकी अध्यक्ष संगीता खतिवडा भुजेलले गर्नुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका सभापति प्रकाश बुडाथोकी सहभागी हुनुहुन्थ्यो। साथै किओच बाल अस्पतालका चिकित्सक डा. जयमणि श्रेष्ठ, लायन्स क्लबका एरिया तथा जोनल पर्सनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्वर्गीय ज्ञानु बुढाथोकी, लायन्स क्लबका पूर्व अध्यक्षको स्मृति दिवस तथा लायन्सको चार्टर सातौँ स्थापना दिवसको अवसरमा ५५ हजार रुपैयाँ बराबरका तीन थान कुर्सी अस्पताललाई हस्तान्तरण गरिएको हो।
क्लब अध्यक्ष खतिवडाका अनुसार “जहाँ समस्या, त्यहीँ सहयोग” भन्ने मूल भावनाका साथ विभिन्न स्थानमा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको लायन्स क्लब दमक सेविकाले यस बाल अस्पतालमा पहिलोपटक नितान्त व्यक्तिगत सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो।
प्रमुख अतिथि भट्टराईले किओच बाल अस्पताल प्रदेशकै गहना भएको उल्लेख गर्दै देख्दा सानो देखिए पनि यस सहयोगको महत्व ठूलो रहेको बताउनुभयो। उहाँले यसले महिला, बालबालिका तथा अन्य बिरामी कुरुवाहरूलाई लामो समयसम्म बस्न सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

