
लाङटाङ क्षेत्रको ट्रेकिङमा गएका चारजना खोलाले बगाउँदा बेपत्ता भएका छन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिका– ४, बेरिङ खोल्सामा शनिबार साँझ आएको बाढीले उनीहरूलाई बगाएको हो । आइतबार बेलुकासम्म पनि उनीहरू फेला परेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बेपत्ता हुनेमा भक्तपुर ठिमी नगरपालिका बस्ने अन्दाजी २५ वर्षकी संस्कृति श्रेष्ठ, २२ वर्षिय किसन श्रेष्ठ, २५ वर्षिय संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका– १० बस्ने २३ वर्षीय रवि श्रेष्ठ छन् । भक्तपुरको सुर्यविनायक–४ घर भएका संस्कृति, किसन र संगिता एकै परिवारका हुन्। ब्याम्बोमा बास बसेर घोडातबेलातर्फ जाने क्रममा बेरिङ खोलामा एक्कासि बाढी आउँदा उनीहरूलाई बगाएको हो । ठुलो पानी पर्दा सानो खोल्सामा तीव्र वेगको बाढी आएको थियो । सोही खोल्सा तर्ने क्रममा उनीहरूलाई बगाएको हो । ‘बेरिङ खोला असाध्यै ढाडो छ, त्यसको दुई सय मिटर तल लाङटाङ खोला छ,’ रसुवाका डिएसपी हेमबहादुर शाहीले भने, ‘लाङटाङ पनि हाइफ्लो करेन्टमा बग्ने खोला हो, शनिबार बेलुकादेखि नै हामीले निरन्तर खोजी गरिरहेका छौँ ।’ उनका अनुसार ड्रोनको समेत प्रयोग गरी खोजी भइरहेको छ । नुवाकोट, धादिङ र चितवनसँग समेत समन्वय गरेर सोमबार पनि बिहानैदेखि खोजतलास भइरहेको उनको भनाइ छ ।
सो ट्रेकिङ टोलीमा १६ जना थिए । आठजनाले खोल्सा तरिसकेका थिए भने बाँकी चारजना पछाडि थिए । बिचमा रहेका चारजनालाई एक्कासि आएको बाढीले बगाएको हो । बाँकी १२ जनालाई उद्धार गरी शेर्पा गाउँमा राखिएको रसुवाका डिएसपी शाहीले बताए ।
सो घटनापछि जिल्ला प्रशासन कार्यालय, रसुवाले लाङटाङ क्षेत्रमा ट्रेकिङ जान रोक लगाएको छ । आइतबारदेखि मौसममा सुधार आए पनि थप अवस्था बुझेर मात्र ट्रेकिङ खुलाउने तयारी छ । ट्रेकिङ जान लागेका स्वदेशी तथा विदेशी पर्यटकलाई आइतबार रोकिएको छ ।

