
दमक, झापा। लागुऔषध तथा मादक पदार्थ दुव्र्यसन नियन्त्रण, एचआईभी/एड्स तथा अन्य रक्तजन्य सङ्क्रमणको रोकथाममा सक्रिय रूपमा काम गर्दै आएको हेप्पि नेपाल (Holier Association of Polite & Progressive Youth) पूर्वी नेपालकै अग्रणी गैर–सरकारी संस्थाका रूपमा स्थापित हुँदै आएको छ।
वि.सं. २०५७ सालमा झापा जिल्लाको दमक नगरपालिकामा ऊर्जाशील, सचेत र सामाजिक उत्तरदायित्व बोकेका युवाहरूको पहलमा स्थापना भएको हेप्पि नेपाल नेपाल सरकारमा विधिवत् रूपमा दर्ता भई सञ्चालनमा रहेको गैर–नाफामुखी संस्था हो। स्थापना कालदेखि नै संस्थाले लागुऔषध दुव्र्यसन नियन्त्रण, एचआईभी/एड्स तथा रक्तजन्य सङ्क्रमणको रोकथाम, साथै असहाय र विपन्न बालबालिकाको संरक्षणलाई आफ्नो प्रमुख कार्यक्षेत्र बनाउँदै आएको छ।
हाल हेप्पि नेपाल रासायनिक निर्भरता (Chemical Dependency) उपचार, परामर्श तथा पुनःस्थापनाका क्षेत्रमा पूर्वी नेपालकै अग्रणी उपचार तथा तालिम केन्द्रका रूपमा चिनिन थालेको छ।
संस्थाले लागुऔषधमा निर्भर व्यक्तिहरूका सामाजिक, मानसिक तथा स्वास्थ्य समस्यालाई समग्र रूपमा सम्बोधन गर्दै उपचार र पुनःस्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यसका साथै, एचआईभी सङ्क्रमित व्यक्तिहरू तथा उनीहरूका परिवारसँग नजिकबाट सहकार्य गर्दै उपचारसँगै मनोसामाजिक सहयोग, परामर्श तथा आत्मसम्मान पुनःस्थापनामा हेप्पि नेपालको योगदान उल्लेखनीय रहेको छ। संस्थाले समुदाय केन्द्रित समग्र सेवा प्रणाली विकास गरेको छ। यसअन्तर्गत हानि न्यूनीकरण (Harm Reduction), लागुऔषध उपचार तथा पुनःस्थापना, व्यक्तिगत तथा पारिवारिक परामर्श, तथा उपचारपश्चात् सेवाग्राहीलाई समाजमा पुनःएकीकरण गर्ने Aftercare Program सञ्चालन भइरहेका छन्। Aftercare कार्यक्रममार्फत सेवाग्राहीलाई आत्मनिर्भर बनाउने र पुनःदुव्र्यसनबाट जोगाउने उद्देश्यलाई विशेष प्राथमिकतामा राखिएको छ।
हेप्पि नेपालले आफ्ना कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउन सुरक्षा निकाय, विद्यालय, कलेज, शैक्षिक तथा अनुसन्धान संस्थाहरू, साथै विभिन्न मानवीय सेवामा संलग्न संघ–संस्थाहरूसँग सहकार्य गर्दै आएको छ। उद्योग तथा व्यवसायिक क्षेत्रसँगको सहकार्यमा व्यावसायिक स्वास्थ्य सेवा (Occupational Health Care Program) समेत सञ्चालन भइरहेको छ, जहाँ सेवाग्राहीको गोपनीयता, सम्मान र पेशागत आचारसंहितालाई उच्च प्राथमिकता दिइन्छ। साथै, समुदायमै आधारित सहकार्यात्मक गठबन्धन निर्माण गर्दै दीर्घकालीन र दिगो सामाजिक परिवर्तनको प्रयास गरिएको संस्थाले जनाएको छ।
संस्थाको मिशन भेदभावरहित, सहयोगात्मक र समावेशी समुदाय निर्माण गर्नु, जोखिम न्यूनीकरण गर्दै हानि कम गर्ने जीवनशैली विकासमा प्रेरित गर्नु तथा जीवनलाई आध्यात्मिक, नैतिक र व्यक्तिगत विकासको निरन्तर प्रक्रियाका रूपमा बुझ्न सहयोग गर्नु रहेको छ। त्यस्तै, लागुऔषधमा निर्भर व्यक्तिहरू तथा एचआईभी/एड्ससँग बाँचिरहेका व्यक्तिहरूलाई पुनः समाजमा एकीकृत र सशक्त बनाउनु संस्थाको प्रमुख लक्ष्य हो।
स्थापनाकालदेखि हालसम्म हेप्पि नेपालले लागुऔषध दुव्र्यसन, एचआईभी/एड्स, रक्तजन्य सङ्क्रमण तथा बालबालिका लक्षित थुप्रै समुदायआधारित कार्यक्रम, जनचेतनामूलक अभियान, तालिम, अन्तरक्रिया तथा सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। यी पहलहरूले व्यक्ति, परिवार तथा समुदायको समग्र स्वास्थ्य र सामाजिक संरचनामा सकारात्मक परिवर्तन ल्याएको सरोकारवालाहरूको भनाइ छ।
समाजमा बढ्दो लागुऔषध दुव्र्यसन र एचआईभी/एड्सजस्ता जटिल समस्याबीच हेप्पि नेपालले देखाएको निरन्तर सक्रियता, समर्पण र सेवाभावले यस संस्थालाई आशा, पुनर्जीवन र सामाजिक परिवर्तनको प्रतीकका रूपमा स्थापित गरेको छ।

