
काठमाडौँ —रोमानियाको टेटेरानी शहरस्थित तीनतले होटलमा भएको आगलागीमा दुई नेपाली युवतीको मृत्यु भएको छ । रोमानियाको राजधानी बुखारेष्टबाट यो होटल करिब ६० किलाेमिटरको दुरीमा रहेको छ ।
रोमानिया मामिला हेर्ने जर्मनस्थित नेपाली दुतावासका अनुसार सेप्टेम्बर २९ प्राहोभा होटलमा आगलागी भएको थियो । जसमा इलामको माई नगरपालिका–७ की २१ वर्षीया सोनी लिम्बु र काठमाडौंको दक्षिणकाली नगरपालिका–९ की २४ वर्षीय सुस्मिता तामाङको मृत्यु भएको दुतावासले जनाएको छ ।
दुतावासका अनुसार उनीहरुलाई उद्दार गर्न खोज्दा चुलाचुली–३ इलामकी २२ बर्षिय सुमिना मगर घाइते भएकी छन् । उनको भने बुधबार अस्पतालबाट डिस्चार्ज भएको छ ।
स्थानीय नेपालीहरु अनुसार सोनी एक वर्षअघि र सुस्मिता पाँच महिना अघि उक्त होटलमा काम गर्ने गरी पुगेकी थिइन् । सोही होटलमा कार्यरत म्याग्दीका नारायणबहादुर बिकले बिहान ७ बजे होटलमा आगलगी भएको बताए । ‘सोनी र सुस्मिता होटलको सवैभन्दा माथिल्लो तलामा रहेको स्टाफ कोठामा वस्थे । उनीहरुको ७ बजेदेखि डिउटी थियो । एक्कासी आगलागी’ बिकले कान्तिपुरसँग भने,‘आगलागी भएपछि उनीहरुले उद्दार मागेका थिए । तुरुन्तै दमकल पनि आइपुगेको थियो । तर जोगाउन सकिएन् ।’
आगलागी अघि उक्त होटलले सुरक्षाको मापदण्ड पालना नगरेको भन्दै स्थानीय प्रशासनले एकलाख रोमानियन जरिवाना लगाई बन्द गराएको थियो । अहिले होटलको विद्धुतको काम जारी थियो ।
नेपाली दुतावासका उपप्रमुख सागर फुयालले पीडित परिवार, रोजगारदाता र रोमानिया सरकारसग समुन्वय भइरहेको वताए । ‘अहिले पहिलो प्राथमिकता नेपालमा शव पठाउने प्रक्रिया भइरहेको छ । शव पठाउने खर्च रोजगारदाताले नै व्यहोर्छ । हामी सबैसँग सर्म्पकमा छौं’, उनले भने,‘क्षतिपुर्ति दिलाउने प्रक्रिया अलि लामो छ । पीडितलाई क्षतिपुर्ति दिलाउनेछौं ।’

