HomeUncategorizedमाओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरणमा सहमति, नेतृत्व टुंगोको जिम्मा प्रचण्ड–माधवलाई

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरणमा सहमति, नेतृत्व टुंगोको जिम्मा प्रचण्ड–माधवलाई

Date:

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरण हुने निश्चित भएको छ । माओवादीका एक नेताका अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीबीच अब पार्टी एकीकरणमा लगभग पक्का भएको हो।

नेतृत्वको विषयमा टुंगो लगाउन माओवादी संयोजक प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जिम्मा दिइएको थियो । प्रचण्ड र अध्यक्ष नेपालबीच पार्टी एकताका लागि सहमत भएको वार्ता टोलीका एक सदस्यले बताएका छन् । उनले भने, ‘अब पार्टी एकीकरणका लागि कुनै अहसमति छैन ।’

त्यसो त निर्वाचन आयोगले दल दर्ताका लागि दिएको समयअघि नै दुई पार्टीबीच एकीकरण भइसक्ने बताइएको छ । पार्टीको चुनाव चिन्ह्बारे भने सहमति भइसकेको छैन । एकीकृत समाजवादीले कलम नै राखौँ भनिरहेको छ र माओवादी केन्द्रले अरु नै चुनाव चिन्ह राख्न भनेको समाजवादीका एक नेताले बताए ।

उनका अनुसार पार्टी एकीकरणका लागि सिद्धान्त र नीति कार्यक्रमको विषय भने टुंगिएको छ । पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद रहनेछ भने कार्यनीति तथा कार्यक्रम नेपाली विशेषतासहितको समाजवाद रहनेछ ।

यस्तै, पार्टी एकीकरणका लागि माओवादी केन्द्रले माओवादलाई छाड्नेछ भने एकीकृत समाजवादीले यसअघि नै जनताको बहुदलीय जनवादलाई छाडेको छ । एकीकरणपछि पार्टीको नीति तथा लक्ष्य नेपाली विशेषतासहितको समाजवाद रहने नेताहरुले बताएका छन् । एकीकरणपछि बन्ने पार्टीको नाममा टुंगो लाग्न भने बाँकी नै छ । तर नेपाल कम्युनिस्ट पार्टी समाजवादी वा नेपाली कम्युनिस्ट पार्टी समाजवादी नाम रहने छ । पार्टीको नामको पछाडि समाजवादी राखिने नेताहरूको भनाइ छ ।

पार्टीको नाम, नीति र सिद्धान्तमा सहमति भएपछि नेतृत्वको विषयमा अन्तिम सहमति जुटाउन प्रचण्ड र माधवलाई दिइएको छ । नेतृत्वको विषयमा भने प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक बन्ने एउटा मोडालिटी पेश गरिएको छ । दुई अध्यक्षको विकल्प अघि सारिएपनि त्यो मोडालिटी पहिले नै असफल भएकोले त्यसतर्फ जान नहुनेमा दुवै पक्ष सहमत छन् ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here