HomeUncategorizedमंगलबारे बजारमा सडक डिभाइडरमा लगाइएका बिरुवा नष्ट, स्थानीयको कारबाहीको माग

मंगलबारे बजारमा सडक डिभाइडरमा लगाइएका बिरुवा नष्ट, स्थानीयको कारबाहीको माग

Date:

दमक । पाडाजुँगी–गौरिगंज सडक खण्ड अन्तर्गत कमल गाउँपालिका–६ स्थित मंगलबारे बजारको सडक डिभाइडरमा लगाइएका बिरुवाहरूलाई अज्ञात व्यक्तिले क्षति पुर्‍याएको घटना सार्वजनिक भएको छ।

सडकको सुन्दरता र वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले स्थानीयको पहलमा केही समयअघि डिभाइडरमा विभिन्न सजावटी र हरियाली बिरुवा रोपिएका थिए। तर पछिल्ला दिनमा ती बिरुवाहरू उखेलिएको, मिचिएको र तोडफोड गरिएको अवस्थामा भेटिएको स्थानीयले बताएका छन्।

स्थानीय रोशन दाहालका अनुसार, “बजार क्षेत्र सफा, हरियो र आकर्षक देखियोस् भन्ने सोचका साथ सबैको सहयोगमा बिरुवा रोपिएको थियो। तर अज्ञात व्यक्तिहरूले त्यसको नाश गरेको देख्दा दुख लाग्छ,” उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्।

दाहालले सम्बन्धित निकायलाई दोषी पहिचान गरी कानुनी कारबाही गर्न आग्रह गर्दै भनेका छन्, “सार्वजनिक सम्पत्तिको नोक्सानी गर्नु सजिलो कुरा होइन, यसमा संलग्नलाई कारबाही हुनुपर्छ।”

यस घटनाले मंगलबारे बजारको सौन्दर्यमा नकारात्मक असर पारेको र वातावरणमैत्री पहलप्रति बेवास्ता गरिएको स्थानीयवासीहरू बताउँछन्। उनीहरूले गाउँपालिका र सम्बन्धित कार्यालयलाई तत्काल ध्यानाकर्षण गराउँदै बजार क्षेत्रभित्र यस्ता घटनाको पुनरावृत्ति रोक्न कडा कदम चाल्न माग गरेका छन्।

कमल गाउँपालिकाले भने यस विषयमा आवश्यक जानकारी संकलन भइरहेको र दोषी पत्ता लगाउन पहल थालिएको जनाएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here