
झापा — कमल गाउँपालिका–४ स्थित भुत्लुङ पुल गत वर्षको बर्खामा चर्किएर भत्किने अवस्थामा पुगेपछि पालिका र संघीय सरकारको लागत साझेदारीमा नयाँ पुल निर्माण गरिएको हो। स्थानीयवासीको सुविधाका लागि गत वर्ष नै सम्पन्न भएको सो पुलले अहिले आवतजावतलाई सहज बनाए पनि केही प्राविधिक कमजोरीबारे जनगुनासो आएको थियो।
स्थानीयको सूचनालाई गम्भीरतापूर्वक लिँदै गाउँपालिका अध्यक्ष हुकुम सिंह राई, प्रशासन प्रमुख केशव ढकाल, प्राविधिक टोली र ठेकदार स्थलमै पुगेर पुलको अवलोकन गरेका छन्।
अध्यक्ष राईले पुलको पंखा र जोडाइमा अलिक छुट्टिएको भागलाई मसला हालेर टालिएको विषयमा जनगुनासो आएपछि प्रत्यक्ष निरीक्षण गरिएको बताए। उनले पुलमा ठूलो समस्या नभएको स्पष्ट पार्दै पंखालाई अझ मजबुत बनाउन, उचाइ बढाउन तथा पुलसम्मको बाटो दुबै तर्फ ग्राभल हालेर फराकिलो पार्ने विषयमा ठेकदारसँग सहमति भएको जानकारी दिए।
“काम गुणस्तरीय हुनैपर्छ भनेर प्राविधिक र ठेकदारलाई निरन्तर निर्देशन दिइरहेका छौँ। पालिकाले अझै सम्पूर्ण भुक्तानी पनि नगरेको हुँदा आवश्यक सुधार कार्य पालिकाले निगरानीमै गराउनेछ,” अध्यक्ष राईले भने।
यसअघि पनि पुल निर्माणको क्रममा गाउँपालिकाले पटक–पटक निरीक्षण गरी गुणस्तर कायम राख्न दबाब दिएको अध्यक्ष राईको दाबी छ।

