Homeसमाचार‘ब्राभो शेरा’ अप्रेशन सफल, म्याग्दीबाट ११५ अवैध भरुवा बन्दुक फेला

‘ब्राभो शेरा’ अप्रेशन सफल, म्याग्दीबाट ११५ अवैध भरुवा बन्दुक फेला

Date:

जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लुकाइछिपाइ राखिएका ११५ थान अवैध भरुबा बन्दुक बरामद गरेको छ । ग्रामीण क्षेत्रमा बन्यजन्तुको शिकारमा प्रयोग भइरहेको बन्दुक आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित बनाउन सक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अवैध भरुबा बन्दुक खोज अभियानअन्तर्गत एक सय १५ थान बन्दुक फेला पारिएको हो ।

जिप्रका म्याग्दीले जिल्लाभरका यूनिटलाई परिचालन गरी मङ्सिर १५ गतेदेखि ‘ब्राभो शेरा’ नाम दिएर इजाजत प्राप्त नगरेका भरुवा बन्दुक बरामद तथा सङ्कलन अप्रेशन चलाएको थियो । निर्वाचनका बेला स्थानीयले लुकाइराखेको हतियार प्रयोगमा आउन सक्ने भन्दै विभागले बरामद गर्न परिपत्र गरेपछि खोजतलास अघि बढाइएको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार, एक महिनाको अवधिमा बेनी नगरपालिकाबाट ११ थान, अन्नपुर्ण गाउँपालिकाबाट १६, रघुगङ्गा गाउँपालिकाबाट ४८ थान, मङ्गला गाउँपालिकाबाट १४ थान, मालिका गाउँपालिकाबाट २० थान, धवलागिरी गाउँपालिकाबाट ६ थान भरुवा बन्दुक बरामद गरिएको छ ।

उहाँले भन्नुभयो, ‘‘प्रहरीको खोज अभियानमा स्थानीय समुदायले पनि साथ दिनुभएको छ ।’’ शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा गोप्य सूचनाको आधारमा खोजतलास गर्दै जाँदा जिल्लाभित्र भरुवा बन्दुकको प्रयोग गरी सामुदायिक, राष्ट्रिय र निकुञ्ज क्षेत्रमा अवैध रुपमा चोरीशिकारीमा समेत न्युनिकरण गर्न सघाउने प्रहरीको भनाइ छ ।

बरामद गरिएका बन्दुकमध्ये कसैको पनि लाइसेन्स नभएको अवस्थाका रहेका थिए । खोजतलासका क्रममा स्थानीयले भरुवा बन्दुक कसैले प्रयोग गर्न नमिल्ने पुराना घरमा र कसैले जङ्गलमा लुकाइराखेको अवस्था फेला परेको थियो । जिल्लाका विभिन्न स्थानमा अझै पनि धेरै भरुवा बन्दुक रहेको आशङ्कामा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । – गोरखापत्र

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here