
काभ्रेपलान्चोक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काभ्रे निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत बेथानचोक गाउँपालिका केन्द्रित घरदैलो अभियान सम्पन्न भएको छ।
सोमबार बेथानचोक गाउँपालिका–५ का कामिडाँडा, च्याल्टी, महाँकालथान, पटगाउँबेशी र मदनबासलगायत स्थानमा घरदैलो अभियान सञ्चालन गरिएको हो।
यसअघि बेथानचोक गाउँपालिका–१, २, ३ र ४ मा समेत घरदैलो अभियान सम्पन्न भइसकेको पार्टीले जनाएको छ। यस्तै पनौती नगरपालिका–११ अन्तर्गत डाँडागाउँ र बल्थली क्षेत्रमा पनि घरदैलो गरिएको छ।
चुनावी अभियानका क्रममा सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य टोकबहादुर वाइवाले कामिडाँडामा तामाङ भाषामार्फत मतदातासँग आफ्ना उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “बसुन्धरा भ्रष्टाचार नगर्ने, सोझा नेता हुनुहुन्छ। तपाईंहरूले भनेका काम गर्नुहुन्छ। यदि काम नगरे मेरो जिम्मेवारी हुनेछ, तर एक बाकस मत पठाइदिनुहोला।”
त्यसैगरी बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले प्रदेश ‘क’ मा प्रदेश ‘ख’ भन्दा बढी मत ल्याउने प्रयास गरिने बताउनुभयो। उहाँले भन्नुभयो, “यदि प्रदेश ‘ख’ मा बढी मत ल्याउन नसक्यौँ भने मैले गरेका विकास कार्यलाई मतदाताले मूल्याङ्कन नगरेको ठान्नेछु।” उहाँले आफूले अघि सारेका विकास योजनाको चर्चा गर्दै यसअघि कसले विकास योजना ल्याएको थियो भन्ने विषयमा प्रश्न उठाउँदै चुनौतीसमेत दिनुभयो।
घरदैलो अभियानमा नेकपाका केन्द्रीय सदस्य टोकबहादुर वाइवा, बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, कृष्णबहादुर भण्डारीलगायत पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेताहरूको सहभागिता रहेको थियो।

