HomeUncategorizedबुवाको काजकिरियामा सहभागी हुन नदिने समाजको सोचप्रति उपमेयर सापकोटाको आँशु र आक्रोश

बुवाको काजकिरियामा सहभागी हुन नदिने समाजको सोचप्रति उपमेयर सापकोटाको आँशु र आक्रोश

Date:

काभ्रेपलाञ्चोक। बनेपा नगरपालिकाकी उपमेयर विमला सापकोटाले आफ्ना पिताको काजकिरियामा सहभागी हुन लाग्दा समाजले बहिष्कार गर्न खोजेको भन्दै गहिरो दुःख व्यक्त गर्नुभएको छ।

उहाँका पिता हरिप्रसाद सापकोटाको ९१ वर्षको उमेरमा आइतबार निधन भएको थियो। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उपमेयर सापकोटाले “महिलामाथिको विभेद कहिले अन्त्य हुन्छ?” भन्दै प्रश्न गर्नुभयो। उहाँका अनुसार पिताको काजकिरियामा महिलाको सहभागिता रोक्ने विषयमा समाजका केही व्यक्तिहरूले बैठकसमेत गरेका छन्।

“महिलामाथि थप पीडा थप्ने यस्ता कार्य तुरुन्त रोक्नुपर्छ। हामीले अरुको वंशमा दखल पुर्याएको छैन, तर अरुको कारण निरन्तर पीडा सहन बाध्य बनाइएको छ,” उहाँले लेख्नुभएको छ।

सानै उमेरमा आमाको निधन भएपछि बुबाले नै आमा र बाबु दुवैको माया दिएर हुर्काएको स्मरण गर्दै उहाँले भन्नुभयो, “बुबाले जिउँदो छँदा पनि छोरा नभएको कारण समाजको धेरै भनाइ र तिरस्कार सहनु परेको थियो। मृत्यु पश्चात पनि काजकिरियाको सवालमा ठुलो बहस चलाइयो, तर म आफ्नो अडानबाट एक रति पनि पछि हट्दिनँ।”

उपमेयर सापकोटाले बुबाप्रति श्रद्धाञ्जली अर्पण गर्दै महिला विरुद्धका विभेदपूर्ण सोच र व्यवहार अन्त्य गर्न सबैलाई आग्रह गर्नुभएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here