
काठमाडौं । फिलिपिन्समा मंगलबार राति ६.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बुधबार बिहान बताएका छन्
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, करिब राति १० बजे सेबु प्रान्तको बोगो सहरको पालोम्पोननजिकै केन्द्रविन्दु भएर उक्त भूकम्प गएको थियो । भूकम्पले मध्य फिलिपिन्स हल्लाएको थियो । भवनहरू भत्किएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, कम गहिराइमा केन्द्रविन्दु रहेको उक्त भूकम्प मंगलबार राति ९ः५० बजे टापुको उत्तरी छेउनजिक ९० हजार मानिसको बसोबास भएको सहर बोगोबाट केही पर गएको थियो ।
स्थानीय उद्धारकर्मीले एएफपीलाई बताएअनुसार, बोगोमा चार बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । त्यहाँ तीनजनाको घर पहिरोले पुरिएको थियो ।
छिमेकी सान रेमिगियो नगरपालिकामा स्थानीय प्रहरीले थप पाँचजनाको मृत्यु भएको पुष्टि गरेको छ । साथै, ताबुएलानमा एकजनाको मृत्यु भएको छ ।
स्थानीय उद्धारकर्मीले एएफपीलाई बताएअनुसार, सान रेमिगियोको एउटा खेलकुद केन्द्रबाट चार शव निकालिएको थियो । तीमध्ये तीन कोस्टगार्ड सदस्य थिए, जो छत भत्कँदा स्थानीय बास्केटबल प्रतियोगितामा खेलिरहेका थिए ।
फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीले उक्त क्षेत्रमा ३७९ परकम्पले मापन गरिएको जनाएको छ ।

