पूर्वप्रधानमन्त्री झलनाथ खनाल : ‘देश खरानीमाथि उभिएर नयाँ संकल्प गर्नुपर्छ’
पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश जताततै खरानी भएकाले त्यही खरानीमाथि उभिएर सबैले नयाँ संकल्प गर्नुपर्ने बताएका छन् । उनले संविधानको मर्म र भावनालाई नै समातेर देश आमूल परिवर्तन गर्नतिर लाग्नुपर्ने बताए ।
‘सबैले यो खरानीमाथि उभिएर अर्को संकल्प गर्नुपर्छ, देशलाई विध्वंशबाट नवनिर्माणमा लैजान यो संविधानका सकारात्मक पक्ष, मर्म र भावनालाई समातेर अघि बढ्नुपर्छ,’ नयाँ संविधान बनेको दशकपछि संविधान दिवसको पूर्वसन्ध्यामा उनले नागरिकन्युजसँग भने, ‘देशलाई आमूल परिवर्तनतर्फ र समाजवादको दिशामा अघि बढाउनुको विकल्प छैन । सबैले यही ढंगले सोच्नुको विकल्प पनि छैन ।’
नयाँ संविधान बनेपछि दुई पटक आम निर्वाचन हुँदा असल नेतृत्व आउन नसकेको र कुनैपनि सरकारले संविधान कार्यान्वयन गर्न नसकेको उनले बताए ।
‘म त यो संविधान अहिलेसम्म कार्यान्वयन नै हुन सकेको छैन भन्छु,’ उनले भने, ‘संविधानको भाग ३ र भाग ४ बनाउन जति मेहनत गरिएको थियो, त्यो कार्यान्वयन भएन, कतिपय नेतालाई त संविधानमा यस्तो छ भन्नेसम्म पनि थाहा छैन ।’ संविधानको भाग ३ मा मौलिक हक र कर्तव्य तथा भाग ४ मा राज्यका नीति निर्देशक सिद्धान्त, नीति तथा दायित्व उल्लेख छ ।
संविधानको भाग ४ ले देशको भविष्यको खाका कोर्न खोजेको तर कुनै पक्ष लागु नभएको उनको भनाइ छ । ‘निकै मेहनत गरेर बनाइएको संविधान अहिले संकटपूर्ण अवस्थामा आइपुगेको छ,’ उनले भने, ‘तर, अब संविधानलाई ठीक ढंगले कार्यान्वयन गर्ने जिम्मा हाम्रो काँधमा छ ।’
जेन-जीको आन्दोलनपछि देश संकटपूर्ण, उथलपुथल र त्रासदीपूर्ण रहेको उनको भनाइ छ । ‘जेन-जीको आन्दोलन सुरुमा राम्रै थियो । तानासाही सरकारले जुन बर्बरतापूर्ण दमन गर्यो, जेनजेडको नियन्त्रणमा आन्दोलन रहेन,’ उनले भने, ‘विध्वंशकारीहरू, लुटपाटकर्ताहरू, षडयन्त्रकारीहरू, मुलुक जलाएर सर्वनाश गर्न चाहने देशी-विदेशी तत्त्वले यो आन्दोलनको नेतृत्व कब्जा गर्न खोजे । मुलुकमा महाविनाश भयो ।’
जेन-जी आन्दोलनक्रममा खनालको डल्लुस्थित घरमा आगजनी गरिएको थियो । आगजनीमा परेर खनालपत्नी रविलक्ष्मी चित्रकार गम्भीर घाइते छिन् । उनको स्वास्थ्य सुधारोन्मुख छ ।

