नेकपा (एकीकृत समाजवादी) भित्र सत्ता संघर्ष: माधव नेपाल–झलनाथ खनाल गुट आमनेसामने

अध्यक्ष नेपाल र उनी निकट नेताहरू कुनै हालतमा नेतृत्व परिवर्तन सम्भव नहुने बताइरहेका छन् । ‘माधव नेपाललाई झाँको झार्ने र नेतृत्वबाट हटाएर आफू त्यहाँ जाने सपना देखिँदैछ’ उपमहासचिव चौधरी भन्छन्, ‘हामीले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइयो भनिसक्यौं, अब माधव कमरेडले नेतृत्व छोड्दा केपी ओलीको चाहना पुरा हुने भयो, त्यस्तो गर्न सकिँदैन ।’
स्रोतका अनुसार नेतृत्व छोड्नुपर्छ भन्ने अभिव्यक्ति दिनेहरूलाई माधव नेपाल आफैले व्यक्तिगत रुपमा सम्झाइरहेका छन् । ‘कसैले फेसबुकमा लेख्यो भने पनि माधव नेपालले सम्झाउने, फकाउने काम गरिरहनु भएको छ’ स्रोत भन्छ, ‘यो भनेको अध्यक्ष कुनै हालतमा नछोड्ने नै हो ।’
अर्कातिर झलनाथ खनाल पार्टीभित्रै समानान्तर गतिविधि सहित माधवलाई नेतृत्वबाट हटाउने अडानमा छन् । पार्टीका हरेकजसो कमिटीमा उनी पक्षीय नेताहरूले माधव नेपालको विरोध गरिरहेका छन् ।
युवा र विद्यार्थीमा त समानान्तर अभ्यास नै चलिरहेको छ । गत माघमा अपानि जारी गरेर माधव नेपालले युवा संघको अध्यक्षबाट कृष्णकुमार विश्वकर्मा र अनेरास्ववियूको अध्यक्षबाट आरती लामालाई हटाएपछि समानान्तर कमिटी अभ्यासमा छन् ।
नयाँ विद्यार्थी इन्चार्ज बनेकी रामकुमारी झाँक्रीले महेश श्रेष्ठको संयोजत्वमा अनेरास्ववियूको कमिटी घोषणा गरेकी छन् । तर त्यो कमिटीलाई चुनौती दिँदै नरेश न्यौपानेको नेतृत्वमा अनेरास्ववियूको समानान्तर कमिटी बनेको छ ।
लक्ष्मण केसी इन्चार्ज रहेको युवा संघ पनि विवादबीच चलिरहेको छ । भदौमा महाधिवेशन गर्नेगरी रोशन थापा संयोजक तथा सन्जीप राई र धर्म शाही सह–संयोजक रहेको आयोजक कमिटी घोषणा गरिएको थियो । तर ५ जना पूर्वपदाधिकारी नराखी कार्यदल घोषणा गरिएको भन्दै समानान्तर गतिविधि चल्दै आएको छ ।
समानान्तर गतिविधिको नेतृत्व सन्जीव राईले गरिरहेका छन् । नेताहरूका अनुसार समानान्तर गतिविधि जिल्ला र पालिका तहसम्मै पुगिसकेको छ । र, युवा–विद्यार्थीको समानान्तर गतिविधिलाई झलनाथ खनालले साथ दिँदै आएका छन् ।
अपानि मार्फत हटाइएको युवा संघका अध्यक्ष विश्वकर्मा र अनेरास्ववियूका अध्यक्ष लामा खनालका निकट थिए । आफू पक्षका नेतृत्वलाई हटाएर नयाँ संरचना बनाउने निर्णयप्रति खनालले खुलेरै आपत्तिसहित समानान्तर गतिविधि गर्ने नेताहरूलाई साथ दिँदै आएका छन् । अरू जनसंगठनहरूमा पनि प्रष्ट दुई गुट रहेको नेताहरू बताउँछन् ।
पार्टीका कमिटीहरूमा पनि झलनाथ खनाल समूह सक्रिय छन् । अर्थात् माधव नेपाललाई पेलेर अगाडि बढ्न पनि सजिलो देखिँदैन ।