
काठमाडौं । राष्ट्रिय ख्रीष्टियन आयोग नेपालको कात्तिक १७ गते लिभिङ्ग फेथ चर्चमा बैठक सम्पन्न भएको छ । बैठकमा आयोगका अध्यक्ष पास्टर टङ्क लामाको नेतृत्वमा देशभरका प्रदेश संयोजकहरूको सहभागिता रहेको थियो ।
सो भेलाले नेपाल धर्मनिरपेक्ष राष्ट्र भएकाले सबै धर्मका मानिसलाई समान अधिकार र स्वतन्त्रता सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । आयोगले इसाई समुदायमाथि भइरहेका विभिन्न सामाजिक, कानुनी र प्रशासनिक चुनौती—जस्तै चर्च निर्माणमा अवरोध, धर्म प्रचारमा प्रतिबन्ध, र धार्मिक भेदभाव—को समाधानका लागि सरकारको ध्यानाकर्षण गरायो ।
बैठकले धार्मिक सहिष्णुता, अन्तरधार्मिक समझदारी र समान अवसर सुनिश्चित गर्न इसाई आयोगको संवैधानिक मान्यता आवश्यक रहेको निष्कर्ष निकालेको छ । साथै, आयोगले सरकारलाई इसाई समुदायसँग सम्बन्धित नीतिगत सुधारका लागि सुझाव दिने, धार्मिक स्वतन्त्रताको अनुगमन गर्ने र सामाजिक सेवा–कल्याणका कार्यमा सक्रिय रहने निर्णय गरेको छ ।
बैठकले कोशी प्रदेश संयोजक पास्टर राजन गिरी, गण्डकीका पास्टर दीपक थापा मगर, लुम्बिनीका पास्टर दीपक पुन मगर, बागमतीका पास्टर आइमान तामाङ र सुदूरपश्चिमका पास्टर प्रकाश क्षेत्री लगायतका प्रतिनिधिहरूको चयन गरेको छ ।

