दमक नगर परिक्रमा गर्दै भव्य रथयात्रा सम्पन्न

दमक — झापाको दमकमा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर यस वर्ष पनि भव्य रथयात्रा सम्पन्न भएको छ। शनिबार साँझ दमक नगरपालिका–७ स्थित राधाकृष्ण मन्दिर परिसरबाट सुरु भएको रथयात्रामा करिब २५ हजारभन्दा बढी भक्तजनको सहभागिता रहेको अनुमान गरिएको छ।
रथयात्रा मन्दिर प्राङ्गणबाट प्रारम्भ भई हनुमान मन्दिर, पशुहाट, पूर्व–पश्चिम राजमार्ग, गणतन्त्र चौक, फर्निचर लाइन, पशुपति मन्दिर, शंखधर चौक, भ्रिकुटी चौक, भानुभक्त चौक, फल्गुनन्द चौक, दमक नगरपालिकाको कार्यालय हुँदै पुनः राधाकृष्ण मन्दिरमै पुगेर सम्पन्न भएको हो। नगर परिक्रमा स्वरूप आयोजित सो रथयात्रा निकै आकर्षक देखिएको थियो।
यस अवसरमा भक्तजनले विभिन्न भजन–कीर्तन, नृत्य, बाजागाजा र धार्मिक झाँकीसहित सहभागिता जनाएका थिए। दमकको विभिन्न टोल र चोकमा समाजसेवी संस्थाहरुले पानी, फलफूल तथा प्रसाद वितरण गरेका थिए।
रथ यात्राको सफलताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र स्थानीय समाजसेवी संस्थाहरुको सक्रिय भूमिका रह्यो। विशेष गरी दमक नगरपालिकाका जनप्रतिनिधि, विभिन्न संघसंस्था, उद्योगी–व्यवसायी तथा समाजका अगुवाहरुले रथयात्रालाई ऐतिहासिक एवं व्यवस्थित बनाउन महत्वपूर्ण योगदान गरेका थिए।
