
काठमाडौं । तिहारको अवसरमा GenZ 2.0 (सबै पुस्ताको सारथी) राष्ट्रिय अभियानले “जेनजि सहिदहरूको सम्झनामा” शीर्षकमा विशेष श्रद्धाञ्जली कार्यक्रम काठमाडौंको माईतीघर मण्डलामा सम्पन्न गरेको छ।
कार्यक्रममा सहिदहरूको बलिदानलाई सम्मान गर्दै राष्ट्रिय एकताको सन्देश फैलाउने तथा सहिदहरूको सपना पूरा गर्ने प्रतिबद्धता जनाइएको थियो।
GenZ 2.0 का प्रवक्ता अविन लिम्बुले “सहिदहरूले चाहेको नेपाल — एकताबद्ध, आत्मनिर्भर र न्यायपूर्ण — बनाउनु नै हाम्रो पुस्ताको जिम्मेवारी हो” भन्दै सहिदका आदर्शलाई आत्मसात गर्न सबैलाई आह्वान गरे।
त्यसैगरी सदस्य–सचिव कुन्दन कुशवाहाले यो कार्यक्रम केवल सम्झना नभई सहिदहरूको सपना साकार पार्ने राष्ट्रिय एकताको अभियान भएको बताए।
कार्यक्रममा दीप प्रज्वलन, मौन धारण र राष्ट्रिय गीतसहित सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो।
GenZ 2.0 ले यसअघि पनि तीनकुने चोकलाई “GenZ चोक” नामकरण, पर्यटन प्रवर्द्धन अभियान, विदेश जाने युवालाई प्रतिकात्मक विदाइ, र बन्द उद्योग पुनःसञ्चालन पहलजस्ता कार्यक्रममार्फत देशभक्तिपूर्ण कार्य गर्दै आएको छ।
संरक्षक एवं परिकल्पनाकार डा. हरि कार्कीका अनुसार, सहिदहरूको बलिदान र नयाँ पुस्ताको चेतना मिलेर मात्रै आत्मनिर्भर र एकताबद्ध नेपाल सम्भव छ।
GenZ 2.0 ले सहिदको सपना पूरा गर्ने यात्रालाई अब राष्ट्रिय अभियानका रूपमा अघि बढाउने घोषणा गरेको छ।


